रोमानिया । रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोनलाई नाटोको हवाई सुरक्षा अभियानमा खटिएको स्पेनी लडाकु विमानले खसालेको छ।
रोमानियाली रक्षा मन्त्रालयका अनुसार आइतबार बिहान राडारमा ड्रोन देखिएपछि स्पेनको एफ–१८ लडाकु विमानलाई कारबाहीका लागि परिचालन गरिएको थियो। रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको ड्रोनमाथि कारबाही गर्न अनुमति पाएपछि विमानले त्यसलाई खसालेको हो।
ड्रोन रोमानियाको गालात्सी सहरको उत्तरतर्फ करिब २४ किलोमिटर क्षेत्रमा देखिएको थियो। खसालिएको ड्रोनका अवशेष दुई गाउँबीचको मानव बस्ती नभएको क्षेत्रमा खसेको बताइएको छ। घटनामा मानवीय क्षति बारे विवरण सार्वजनिक भने भएको छैन ।
यस वर्ष रोमानियाली हवाई क्षेत्रमा प्रवेश गरेका ड्रोनविरुद्ध गरिएको यो चौथो यस्तो कारबाही हो। पछिल्ला दिनमा युक्रेन युद्धका कारण रोमानियाको सीमावर्ती क्षेत्रमा ड्रोन गतिविधि बढ्दै गएको छ। रोमानियाले चार दिनको अवधिमा आफ्नो क्षेत्र वरपर १०० भन्दा बढी ड्रोन पत्ता लगाएको र नाटोका लडाकु विमान सात पटक परिचालन गरिएको जनाएको छ।
रोमानिया नाटोको सदस्य राष्ट्र भएकाले आफ्नो हवाई क्षेत्रको सुरक्षाका लागि नाटोका विमानसमेत नियमित रूपमा परिचालन हुँदै आएका छन्। पछिल्लो घटनाले युक्रेन युद्धको प्रभाव रोमानियासहित नाटोको पूर्वी सीमामा थप गम्भीर बन्दै गएको संकेत गरेको छ।