काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान गएको शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ४७ जनाको मृत्यु भएको छ।
भूकम्पपछि उद्धार टोलीले भग्नावशेषमा फसेका तथा बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्।इन्डोनेसियाको मौसम तथा भूभौतिकी एजेन्सीका अनुसार स्थानीय समयअनुसार बिहान करिब ५ बजे गएको भूकम्पको केन्द्र जमिनको सतहबाट १५ किलोमिटर गहिराइमा थियो। शक्तिशाली भूकम्पपछि ३४१ वटा परकम्प गएको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी ले जनाएको छ।प्रारम्भिक विवरणअनुसार ९०० भन्दा बढी घर तथा सयौँ अन्य भवनमा गम्भीर क्षति पुगेको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये माङ्गाराई प्रान्तमा २४ जनाको मृत्यु भएको छ। पूर्वी माङ्गाराईमा १७, सिक्कामा तीन तथा न्गाडा, एन्डे र पश्चिम माङ्गाराईमा कम्तीमा एक–एक जनाको मृत्यु भएको बताइएको छ।
भूकम्पमा कम्तीमा दुई जना गम्भीर घाइते भएका छन् भने ११ जना सामान्य घाइते भएका छन्। पाँच हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेर अस्थायी आश्रयस्थलमा राखिएको छ।विपद् प्रभावित क्षेत्रमा करिब १० हजार ५०० राहत प्याकेज पठाइएको अधिकारीहरूले बताएका छन्। तर, दुर्गम क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन जारी रहेकाले विपद्को वास्तविक अवस्था अझै पूर्ण रूपमा स्पष्ट हुन सकेको छैन। इन्डोनेसिया विश्वकै सबैभन्दा सक्रिय भूकम्पीय क्षेत्रमध्ये एक हो र यो ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित छ।उद्धार तथा राहत कार्य जारी रहेकाले मृतक र क्षतिको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।