काठमाडौँ । तालिबान सत्तामा फर्किएको पाँच वर्षपछि पनि अफगानिस्तान गम्भीर मानवीय तथा मानवअधिकार संकटबाट गुज्रिरहेको छ।
अन्तर्राष्ट्रिय सहयोगमा आएको ठूलो कमी, बढ्दो गरिबी र महिला तथा बालिकामाथि लगाइएका कडा प्रतिबन्धका कारण लाखौँ अफगान प्रभावित भएका छन्। अफगानिस्तानको करिब ४५ प्रतिशत जनसंख्यालाई मानवीय सहायता आवश्यक पर्ने भए पनि तालिबान सत्तामा फर्किएपछि अन्तर्राष्ट्रिय दातृ निकायबाट प्राप्त सहयोगमा ठूलो कटौती भएको छ। यसबाट विशेषगरी महिला र बालिका बढी प्रभावित भएका छन्। तालिबानले महिलाको अधिकारमा विभिन्न प्रतिबन्ध लगाएको छ। अफगानिस्तानमा बालिकालाई छैटौँ कक्षाभन्दा माथि अध्ययन गर्न रोक लगाइएको छ। युनेस्कोका अनुसार हाल करिब २४ लाख बालिका विद्यालय शिक्षाबाट वञ्चित छन्। महिलालाई अधिकांश रोजगारीबाट समेत रोक लगाइएको छ भने सार्वजनिक स्थानमा अनुहार छोप्नुपर्ने र लामो दूरीको यात्रा गर्दा पुरुष साथमा हुनुपर्ने व्यवस्था गरिएको छ।
संयुक्त राष्ट्रसंघीय महिला निकायका अनुसार अफगानिस्तानका आधाजसो महिला महिनामा एक वा दुई पटक मात्र घरबाहिर निस्कने गरेका छन्। यस्तो सामाजिक अलगावका कारण महिलाको मानसिक स्वास्थ्यमा समेत गम्भीर असर परेको जनाइएको छ। यसैबीच, मानवीय सहायता घटेसँगै बालबालिकाको अवस्था पनि चिन्ताजनक बनेको छ। एक प्रतिवेदनअनुसार अफगानिस्तानका प्रत्येक १० मध्ये एक बालबालिका गम्भीर कुपोषणबाट प्रभावित छन्। यस वर्ष १ करोड १० लाखभन्दा बढी बालबालिकालाई मानवीय सहायता आवश्यक पर्ने अनुमान गरिएको छ। अफगानिस्तानको मानवीय सहायता कोषमा सन् २०२२ यता करिब ७० प्रतिशतले कमी आएको छ। संयुक्त राष्ट्रसंघीय महिला निकायका अनुसार १ करोड ७ लाखभन्दा बढी अफगान महिला तथा बालिका मानवीय सहायतामा निर्भर छन्।
अफिम खेती नियन्त्रण गर्ने विषयमा भने तालिबान सरकारले उल्लेखनीय सफलता हासिल गरेको देखिन्छ। सन् २०२२ मा अफिम खेतीमा प्रतिबन्ध लगाएपछि अफिम उत्पादन करिब ९५ प्रतिशतले घटेको छ। तर यसले ग्रामीण क्षेत्रमा आम्दानीको महत्वपूर्ण स्रोत गुमेको र वैकल्पिक रोजगारीको अभावमा नयाँ समस्या सिर्जना भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। यसका साथै कमजोर सरकारी संस्था, बढ्दो गरिबी र सुरक्षा चुनौतीका कारण अफगानिस्तानका केही क्षेत्रमा कानुनविहीनताको अवस्था कायम रहेको बताइएको छ। आईएसआईएस–के र अलकायदा जस्ता समूह पनि केही क्षेत्रमा सक्रिय रहेको सामग्रीमा उल्लेख छ। तालिबान सत्तामा फर्किएको पाँच वर्षपछि पनि भोकमरी, रोकथाम गर्न सकिने रोग, गरिबी र महिलामाथिको प्रतिबन्धले अफगानिस्तानको दैनिक जीवनलाई गम्भीर रूपमा प्रभावित गरिरहेको देखिन्छ।