काठमाडौँ । बेल्जियमको सबैभन्दा ठूलो प्राकृतिक आरक्षमा शुक्रबारदेखि फैलिएको भीषण डढेलो नियन्त्रण गर्न अग्निनियन्त्रकहरूलाई कठिनाइ भइरहेको छ। स्थानीय अधिकारीहरूले यसलाई हालसम्मकै सबैभन्दा ठूलो डढेलोमध्ये एक भएको बताएका छन्।
डढेलो पूर्वी बेल्जियममा जर्मनीको सीमाना नजिक रहेको हाई फेन्स क्षेत्रमा फैलिएको हो। आगो बस्ती नजिक पुग्न सक्ने जोखिम बढेपछि आसपासका दुई गाउँका बासिन्दालाई सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ। आगलागी नियन्त्रणका लागि युरोपका विभिन्न देशबाट पानी बर्साउने विमान र हेलिकोप्टरसमेत परिचालन गरिएको छ। स्थानीय अधिकारीका अनुसार शनिबार दिउँसोसम्म आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको थिएन।
वालोनिया क्षेत्रका अधिकारीका प्रवक्ता निकोलस येर्नोका अनुसार आगो बस्तीमा पुग्ने जोखिम रहेकाले उपलब्ध सबै स्रोतसाधन परिचालन गरेर घरहरू जोगाउने प्रयास भइरहेको छ। विस्थापित बासिन्दाका लागि नजिकैको एक जिमखाना अस्थायी आश्रयस्थलका रूपमा खोलिएको छ। आगलागी नियन्त्रणमा मौसम र भू–बनोटले समेत चुनौती थपेको अधिकारीहरूले बताएका छन्। उक्त क्षेत्र दलदल, खुला घाँसे मैदान र जंगलले भरिएकाले केही स्थानमा अग्निनियन्त्रकहरू पुग्नसमेत कठिन भएको छ। युरोपेली संघको नागरिक सुरक्षा संयन्त्र सक्रिय गरिएपछि स्विडेनबाट दुई पानी बर्साउने विमान तथा चेक गणतन्त्र र नेदरल्यान्ड्सबाट एक–एक हेलिकोप्टर सहयोगका लागि पठाइएको छ।
यसैबीच, फ्रान्सको दक्षिण–पश्चिमी क्षेत्रमा पनि जंगलमा लागेको डढेलोका कारण करिब ६५० जना स्थानीय बासिन्दालाई घरबाट सुरक्षित स्थानमा सारिएको छ। बिहीबार सुरु भएको आगो शनिबार पुनः फैलिएको थियो। आगो नियन्त्रणका लागि ५०० भन्दा बढी अग्निनियन्त्रक परिचालन गरिएको छ। क्रोएसिया, स्पेन र सर्बियामा पनि शुक्रबारदेखि जंगलमा डढेलोका घटना सार्वजनिक भएका छन्। यस वर्षको गर्मीमा युरोपका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी देखिएसँगै जंगलमा आगलागीका घटना बढिरहेका छन्। युरोपेली संघको जलवायु निगरानी सेवा कोपरनिकसका अनुसार पश्चिमी युरोपले यस वर्ष जुनदेखि जुलाईसम्मको अवधिमा अहिलेसम्मकै सबैभन्दा उच्च तापक्रम अनुभव गरेको छ।