साइप्रस । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् साइप्रसले साइप्रसमा पछिल्लो समय भएका घटनाक्रमलाई लिएर नेपाली समुदायलाई संयमित र जिम्मेवार ढंगले प्रस्तुत हुन आग्रह गरेको छ ।
एनआरएनए–एनसीसी साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेले एक अपिल जारी गर्दै साइप्रसमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई घटनासँग सम्बन्धित समाचार तथा सूचनाको अनावश्यक प्रचार–प्रसार नगर्न आग्रह गरेका हुन् ।
अगस्ट १५ तारिख शनिबारका दिन जारी गरिएको अपिलमा साइप्रसमा भएका घटनाहरूलाई लिएर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा अत्यन्तै संवेदनशील समाचार तथा सामग्रीहरू सम्प्रेषण भइरहेको भन्दै संघले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघले विशेषगरी घटनासँग सम्बन्धित अपुष्ट वा संवेदनशील समाचारहरू टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा लाइक, कमेन्ट वा शेयरका लागि अत्यधिक प्रचार नगर्न समुदायलाई अनुरोध गरेको छ ।
एनआरएनए साइप्रसले साइप्रसमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आपसी मित्रता, सद्भाव र भाइचारा कायम राख्नसमेत अपिल गरेको छ । समुदायमा अनावश्यक तनाव वा भ्रम सिर्जना हुन सक्ने किसिमका पोस्ट तथा सामग्री नराख्न आग्रह गर्दै संघले सामाजिक सञ्जालको प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ ।
