पोर्चुगल। परिवारसहित युरोपमा दीर्घकालीन बसोबास र आवागमनको विकल्प खोजिरहेका गैर–युरोपेली नागरिकका लागि पोर्चुगलको ‘गोल्डेन भिसा’ अझै आकर्षक विकल्पका रूपमा देखिएको छ। लगानीका आधारमा दिइने यो आवासीय कार्यक्रम एक दशकभन्दा बढी समयदेखि सञ्चालनमा छ।
पोर्चुगलको गोल्डेन भिसा गैर–युरोपेली, गैर–युरोपेली आर्थिक क्षेत्र तथा स्विस नागरिकका लागि लक्षित आवासीय कार्यक्रम हो। हाल योग्य लगानीअन्तर्गत कम्तीमा ५ लाख युरो नियमन गरिएको लगानी कोषमा लगानी गर्ने, पोर्चुगलको कम्पनीमा कम्तीमा ५ लाख युरो लगानी गर्ने वा व्यवसाय सिर्जनामा पूँजी लगाउनेजस्ता विकल्प छन्। सांस्कृतिक, कलात्मक तथा सम्पदा संरक्षणसम्बन्धी परियोजनामा २ लाख ५० हजार युरोदेखि योगदान गर्ने विकल्पसमेत रहेको छ।
घर किने मात्रै गोल्डेन भिसा पाईन्छ त ?
पोर्चुगलको ‘गोल्डेन भिसा’ घर किने मात्रै गोल्डेन भिसा भने पाईदैन । गोल्डेन भिसाबारे सबैभन्दा महत्वपूर्ण परिवर्तन भनेको घरजग्गा खरिदलाई लगानीको आधारबाट हटाइनु हो। पोर्चुगलले सन् २०२३ देखि घर वा अपार्टमेन्ट खरिद गरेर गोल्डेन भिसा लिन सकिने व्यवस्था हटाइसकेको छ। एउटै लगानीबाट परिवारका सदस्य समेटिन भने सक्नेछन् । योग्य मुख्य आवेदकको पति वा पत्नी, आश्रित सन्तान तथा निश्चित अवस्थामा आश्रित अभिभावक वा हजुरबुबा–हजुरआमासमेत आवेदन प्रक्रियामा समावेश हुन सक्छन्। गोल्डेन भिसाका लागि पोर्चुगलमै स्थायी रूपमा बसाइँ सर्नुपर्ने बाध्यता छैन। हालको व्यवस्थाअनुसार आवासीय अनुमति कायम राख्न सामान्यतया वर्षमा औसत करिब सात दिन पोर्चुगलमा बिताउनुपर्ने हुन्छ।
गोल्डेन भिसा लिएपछि तुरुन्त नागरिकता पाईन्छ ?
पोर्चुगलको गोल्डेन भिसा पाउदैमा नागरिकता भने पाईदैन । आवासीय अनुमति प्राप्त गर्दैमा पोर्चुगलको करदाता वा नागरिक स्वतः नहुने भएकाले नागरिकता तथा करसम्बन्धी नियम छुट्टाछुट्टै लागू हुन्छन्। सन् २०२६ मा पोर्चुगलको राष्ट्रियता कानुनमा समेत परिवर्तन भएकोले नागरिकता लिन चाहनेले पछिल्लो नियम अनिवार्य रूपमा बुझ्नुपर्ने हुन्छ।
त्यसैले पोर्चुगलको गोल्डेन भिसा परिवारका लागि आकर्षक विकल्प भए पनि ठूलो रकम लगानी गर्नुपर्ने भएकाले व्यक्तिगत आर्थिक अवस्था, लगानीको जोखिम, परिवारको आवश्यकता तथा दीर्घकालीन योजनाका आधारमा निर्णय गर्न विज्ञको कानुनी तथा करसम्बन्धी सल्लाह लिन आवश्यक देखिन्छ।