फ्रान्स । फ्रान्सका राष्ट्रपतिलाई ठूलो धक्का परेको छ।
फ्रान्सको संवैधानिक परिषद्ले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने कानुन खारेज गरेसँगै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई ठूलो धक्का लागेको हो ।
बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा अष्ट्रेलियाली शैलीको प्रतिबन्धको लागि विश्वभर गति बढ्दै जाँदा यो निर्णय राष्ट्रपति म्याक्रोनका लागि ठूलो धक्का हो ।
फ्रान्सेली संसद्ले जुलाईमा पारित गरेको उक्त कानुन आगामी सेप्टेम्बर १ देखि लागू गर्ने तयारी थियो। कानुन कार्यान्वयन भएको भए १५ वर्षमुनिका बालबालिकाले नयाँ सामाजिक सञ्जाल खाता खोल्न पाउने थिएनन् भने पहिलेबाट सञ्चालनमा रहेका खातासमेत निश्चित अवधिभित्र बन्द गर्नुपर्ने व्यवस्था थियो। प्रयोगकर्ताको उमेर पहिचान गर्न सामाजिक सञ्जाल कम्पनीहरूलाई उमेर प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने थियो।
तर संवैधानिक परिषद्ले सबै प्रयोगकर्ताबाट उमेर प्रमाणित गराउने व्यवस्था कसरी लागू गर्ने भन्ने विषयमा कानुनी सुरक्षा पर्याप्त स्पष्ट नभएको जनाएको छ। यसले बालबालिकामात्र नभई वयस्क प्रयोगकर्ताको निजी जीवन र गोपनीयतामा समेत असर पार्न सक्ने परिषद्को ठहर छ।
परिषद्ले सामाजिक सञ्जालबाट बालबालिकालाई हुने जोखिम नियन्त्रण गर्नु वैध उद्देश्य भए पनि सबै १५ वर्षमुनिका बालबालिकालाई एउटै ढंगले प्रतिबन्ध लगाउनु उचित र समानुपातिक नभएको बताएको छ। अभिभावकको भूमिका, बालबालिकाको उमेर तथा परिपक्वता र विभिन्न सामाजिक सञ्जालबाट उत्पन्न हुने जोखिमबीच पर्याप्त भिन्नता नगरेको पनि परिषद्ले औंल्याएको छ। उक्त निर्णयपछि राष्ट्रपति म्याक्रोंले प्रतिबन्धको बारेमा आगामी दिनमा के गर्लान त्यो भने हेर्न बाँकी छ ।