काठमाडौँ । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। इन्डोनेसियाको भूभौतिक निकायका अनुसार पहिलो भूकम्प स्थानीय समयअनुसार बिहान ४ः५८ बजे जमिनबाट करिब १५ किलोमिटर गहिराइमा गएको थियो। त्यसलगत्तै सोही क्षेत्रमा पटक–पटक शक्तिशाली परकम्पहरूसमेत महसुस गरिएका छन्।
राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रहरूमा करिब एक मिनेटसम्म भूकम्पको तीव्र धक्का महसुस गरिएको थियो। भूकम्पका कारण आतङ्कित बनेका स्थानीय बासिन्दाहरू घर छाडेर सुरक्षित स्थानतर्फ भागेका थिए। भूकम्पलगत्तै सुनामीको चेतावनी जारी गरिएको थियो र केही तटीय क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालहरूसमेत रेकर्ड गरिएको बीएमकेजीले पुष्टि गरेको छ।
प्रारम्भिक विवरणअनुसार भूकम्पबाट हालसम्म कुनै ठुलो भौतिक वा मानवीय क्षतिको खबर प्राप्त भएको छैन। यसैबिच, छिमेकी मुलुक अस्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने यस भूकम्पबाट अस्ट्रेलियाको मुख्य भूभाग वा द्वीपहरूमा सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ। प्रशान्त महासागरीय ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले इन्डोनेसिया भूकम्प र सुनामीको दृष्टिले अत्यन्तै जोखिमयुक्त मानिन्छ।