रोमानिया । यूरोपको रोमानियामा गैर–युरोपेली मुलुकका विदेशी श्रमिकलाई लक्षित गर्दै नयाँ कानूनी व्यवस्था लागू भएको छ।
रोमानिया सरकारको आपत्कालीन अध्यादेशले विदेशी श्रमिकको रोजगारी, रोजगारदाता परिवर्तन, रोजगार एजेन्सी, तलब भुक्तानी, आवास तथा बसोबासको अधिकारसम्बन्धी नियममा महत्वपूर्ण परिवर्तन गरेको हो । नयाँ कानूनी अनुसार पहिलो रोजगारदातासँग ६ महिना काम गर्नुपर्ने जनाएको छ ।
नयाँ व्यवस्थाअनुसार रोमानियामा पहिलोपटक काम सुरु गर्ने विदेशी श्रमिकले सामान्य अवस्थामा पहिलो रोजगारदातासँग कम्तीमा ६ महिना काम गर्नुपर्नेछ र ६ महिना पूरा नहुँदै श्रमिकले आफ्नै इच्छाले राजीनामा दिएर अर्को रोजगारदाता रोज्न पाउने व्यवस्था सीमित गरिएको छ।
तर रोजगारदाताले सम्झौता अन्त्य गरेमा वा दुवै पक्षको सहमतिमा सम्झौता समाप्त भएमा अर्को रोजगारदातासँग काम गर्ने बाटो खुल्न सक्नेछ। यस्तै रोजगार एजेन्सीमार्फत रोमानिया आएका श्रमिकका लागि सुरुको २ वर्षसम्म एजेन्सीसम्बन्धी विशेष व्यवस्था लागू हुनेछ। ६ महिना पूरा भएपछि पनि २ वर्ष नपुग्दासम्म रोजगारदाता परिवर्तन गर्दा सामान्यतया सम्बन्धित नियुक्ति एजेन्सीमार्फत प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।
यस्तै नयाँ कानून अनुसार रोमानियामा काम गुमेपछि विदेशी श्रमिकले सामान्य अवस्थामा ९० दिनसम्म नयाँ रोजगारी खोज्न पाउने व्यवस्था गरेको छ। यो अवधिभित्र नयाँ रोजगारदाताबाट आवश्यक प्रक्रिया अघि बढ्नुपर्छ।
एजेन्सीमार्फत आएका श्रमिकको रोजगारी समाप्त भएमा सम्बन्धित एजेन्सीले ९० दिनको अवधिमा कम्तीमा दुईवटा रोजगारीको प्रस्ताव उपलब्ध गराउनुपर्नेछ। प्रस्ताव अस्वीकार गरेको अवस्थामा त्यसको जानकारी सम्बन्धित निकायलाई दिनुपर्ने व्यवस्था रहेकोछ । नयाँ कानून अनुसार विदेशी श्रमिकको तलब श्रमिककै नाममा रहेको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ भनेरोजगारदाताले श्रमिकलाई आवास उपलब्ध गराएको अवस्थामा त्यसबापत लिने मासिक रकम श्रमिकको खुद तलबको २५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरिएको छ।
रोमानियामा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले नयाँ कानुनी व्यवस्थाले नेपाली समुदायलाई प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।