रोमानिया । युरो क्षेत्रमा अझै नगदकै दबदबा रहेको पाईएको छ ।
डिजिटल भुक्तानीको प्रयोग तीव्र रूपमा बढे पनि नगद अझै सबैभन्दा बढी स्वीकार हुने भुक्तानी माध्यमका रूपमा कायम रहेको पाईएको हो ।
युरोपेली केन्द्रीय बैंक (ईसीबी) को पछिल्लो तथ्यांक अनुसार युरो क्षेत्रमा ग्राहकबाट प्रत्यक्ष भुक्तानी लिने ९२ प्रतिशत कम्पनीले नगद स्वीकार गरेको जनाएको छ । कार्डबाट भुक्तानी स्वीकार गर्ने कम्पनीको संख्या ८८ प्रतिशत रहेको छ।
यद्यपि, मोबाइलबाट हुने भुक्तानीको स्वीकार्यता भने तीव्र रूपमा बढेको छ। सन् २०२४ मा ३६ प्रतिशत कम्पनीले मोबाइल भुक्तानी स्वीकार गरेकोमा सन् २०२६ मा यो संख्या बढेर ६८ प्रतिशत पुगेको छ। अर्थात् दुई वर्षमै मोबाइल भुक्तानी स्वीकार गर्ने कम्पनीको संख्या झन्डै दोब्बर भएको हो।
नगद स्वीकार गर्ने दर सबैभन्दा बढी ग्रीस र इटालीमा ९९ प्रतिशत रहेको छ। त्यस्तै बेल्जियममा ८१ प्रतिशत र साइप्रसमा ७६ प्रतिशत कम्पनीले नगद लिने गरेका छन् ।
ईसीबीका अनुसार, डिजिटल भुक्तानीतर्फको आकर्षण बढ्दै गए पनि नगदको माग अझै बलियो रहेको देखिएको छ।