रोमानिया । युरोपमा पछिल्ला दिनहरूमा गर्मी अत्यधिक बढेको छ। फ्रान्स, स्पेन, इटाली र बेलायतलगायतका देशमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि लाखौँ मानिस गर्मीको चपेटामा परेका छन्।
फ्रान्सको राजधानी पेरिसमा तापक्रम ३८ डिग्री सेल्सियससम्म पुगेको छ। देशका अधिकांश क्षेत्रमा गर्मीको लहरको चेतावनी जारी गरिएको छ। इटालीमा मात्रै करिब २ करोड ९० लाख मानिस गर्मीबाट प्रभावित हुने अनुमान गरिएको छ।
स्पेनमा पनि अवस्था उस्तै छ। मध्य क्षेत्रमा तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ भने करिब २ करोड ५० लाख मानिस अत्यधिक गर्मीको प्रभावमा पर्न सक्ने अनुमान गरिएको छ। बेलायतमा पश्चिमी लन्डनको तापक्रम ३८.१ डिग्री सेल्सियस पुगेपछि यस वर्षकै सबैभन्दा तातो दिन रेकर्ड भएको छ।
युरोपभरि ३५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम बढ्दै गएपछि स्वास्थ्य जोखिमसमेत बढेको छ। अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्नुका साथै स्वास्थ्यकर्मीसमेत प्रभावित भएका छन्। मौसमविद् तथा वैज्ञानिकहरूले मानव गतिविधिका कारण भइरहेको जलवायु परिवर्तनलाई बढ्दो तापक्रम र बारम्बार दोहोरिने गर्मीको मुख्य कारण मानेका छन्। गर्मी र खडेरीका कारण डढेलोको जोखिमसमेत बढेको छ।
युरोपमा गर्मीको लहर अझै केही समय कायम रहन सक्ने भन्दै सर्वसाधारणलाई पर्याप्त पानी पिउन, दिउँसोको चर्को घामबाट जोगिन र स्वास्थ्यमा असहजता देखिए तत्काल उपचार लिन आग्रह गरिएको छ।