काठमाडौँ । इजरायलले कब्जा गरेको पश्चिम किनाराको कुस्रा गाउँमा इजरायली बसोबासीले प्यालेस्टिनीका घर घेराबन्दी गरेपछि करिब एक दर्जन परिवारलाई घर छाड्न निर्देशन दिइएको छ।
नाब्लुसनजिकै रहेको कुस्रा गाउँमा आइतबारदेखि इजरायली बसोबासीले तीनवटा प्यालेस्टिनी घर घेराबन्दी गर्दै विद्युत् र पानीको आपूर्ति बन्द गरिदिएका थिए। त्यसपछि बसोबासीलाई हटाउने भन्दै इजरायली सेना गाउँमा प्रवेश गरेको थियो। कुस्राका मेयर अब्देल अजिम वादीका अनुसार सेनाले गाउँलाई ‘बन्द सैन्य क्षेत्र’ घोषणा गरेको छ। सेनाले खाली गराइएका केही प्यालेस्टिनी घरलाई अस्थायी ब्यारेकका रूपमा प्रयोग गरिरहेको उनले बताएका छन्। इजरायली सेनाले भने आफ्नो कारबाही स्थानीय बासिन्दाको सुरक्षाका लागि भएको जनाएको छ। इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले प्यालेस्टिनी परिवारलाई घेराबन्दी गर्ने बसोबासीको गतिविधिलाई ‘निन्दनीय र अस्वीकार्य’ भन्दै दोषीमाथि अनुसन्धान गरी पक्राउ तथा कानुनी कारबाही गरिने बताएका छन्।
घेराबन्दीमा परेका तीन घरमध्ये दुई घरका परिवारलाई बिहीबार घर छाड्न भनिएको थियो। उनीहरू हाल तेस्रो घरमा आश्रय लिएर बसेका छन्। गाउँका अन्य ११ घरपरिवारलाई पनि सेनाले घर छाड्न निर्देशन दिएको बताइएको छ। घर छाड्न बाध्य भएका काहेर ओदाहले बिहीबार बिहान २० देखि ३० जनासम्म सैनिक आफ्नो घरमा प्रवेश गरेको बताएका छन्। सैनिकले ढोका फुटाएर आफूहरूलाई बाहिर निकालेको र त्यसपछि पूरै क्षेत्र घेराबन्दी गरिएको उनको भनाइ छ। करिब १० घण्टापछि केही परिवारलाई घर फर्कन अनुमति दिइए पनि घरभित्रका सामान अस्तव्यस्त अवस्थामा भेटिएको उनीहरूले बताएका छन्। एक परिवारले फ्रिजमा रहेको खाद्यान्न फालिएको र १ हजार ५ सय अमेरिकी डलर नगद हराएको आरोप लगाएको छ। इजरायली सेनाले भने यी आरोपबारे प्रतिक्रिया दिएको छैन। इजरायली सेनाका अनुसार कुस्रा र जलुद क्षेत्रको बाहिरी भागमा रहेका दुई ‘अवैध चौकी’ हटाइएको छ। एक जना इजरायली नागरिकलाई नियन्त्रणमा लिएर केही सामग्रीसमेत जफत गरिएको सेनाले जनाएको छ। कुस्रामा तनाव आइतबारदेखि सुरु भएको थियो। बसोबासीले प्यालेस्टिनी परिवारका घर जाने बाटो अवरुद्ध गर्दै पानी र विद्युत् आपूर्ति बन्द गरेका थिए। घटनास्थलमा पुगेका केही इजरायली सैनिकले बसोबासीसँगै प्रार्थना गरेको भिडियो सार्वजनिक भएपछि इजरायली सेनाले उनीहरूमाथि अनुशासनात्मक कारबाही गर्ने जनाएको थियो।
बुधबार बसोबासीलाई हटाउने प्रयासका क्रममा इजरायली सुरक्षा बल र बसोबासीबीच झडपसमेत भएको थियो। सुरक्षा बलले अश्रुग्यास र स्टन ग्रेनेड प्रयोग गरेको बताइएको छ। प्यालेस्टिनी परिवारका सदस्य कुसाई अबु रिदीले बसोबासीले रातिसमेत घरमा आक्रमण गरेको र केही बसोबासी अझै आसपासमा लुकेर बसेको बताएका छन्। उनका दाजु प्यालेस्टिनी मूलका अमेरिकी व्यवसायी हुन्, जसले घटनाबारे अमेरिकी दूतावासमा उजुरी गरेका थिए। अमेरिकी राजदूत माइक हकाबीले कुस्रा परिवारमाथि भएको बसोबासीको गतिविधिलाई ‘आतंकको भयावह कार्य’ भन्दै निन्दा गरेका छन्। पश्चिम किनारामा इजरायली बस्ती विस्तार र बसोबासीको हिंसाका कारण पछिल्लो समय प्यालेस्टिनी विस्थापन बढ्दै गएको छ। अन्तर्राष्ट्रिय कानुनअनुसार पश्चिम किनारामा रहेका इजरायली बस्तीलाई अवैध मानिन्छ। संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२६ मा बसोबासीको हिंसा, घर भत्काउने तथा निष्कासनका कारण करिब ३ हजार ८ सय प्यालेस्टिनी विस्थापित भएका छन्। विस्थापित हुनेमध्ये झण्डै आधा बालबालिका रहेका छन्। सन् २०२३ जनवरीयता पश्चिम किनाराका १२७ प्यालेस्टिनी समुदाय पूर्ण वा आंशिक रूपमा विस्थापनको चपेटामा परेका छन्। तीमध्ये ४७ समुदाय पूर्ण रूपमा विस्थापित भएका छन् भने ६ हजार ३ सय ९० भन्दा बढी प्यालेस्टिनी प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।