टेक्सास । अमेरिकाको टेक्सासमा अमेरिकी सेनाको एएच–६४ अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा दुई सैनिकको मृत्यु भएको छ।
फोर्ट हुड सैन्य आधारसँग सम्बन्धित हेलिकप्टर बुधबार बेल काउन्टीको एक खेतमा खसेको थियो। हेलिकप्टर दुर्घटनापछि ठूलो घाँसे मैदानमा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
बेल काउन्टीका अधिकारीका अनुसार हेलिकप्टरमा सवार दुवै सैनिकलाई घटनास्थलमै मृत घोषित गरिएको थियो। फोर्ट हुडले पनि दुर्घटनामा दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको छ।
मृतक सैनिकहरूको परिचय उनीहरूका परिवारलाई जानकारी गराएपछि मात्र सार्वजनिक गरिने अमेरिकी सेनाले जनाएको छ।
दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।