आयरल्याण्ड । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलनले गैरआवासीय नेपालीका अधिकार, नेपालमा लगानी, सुरक्षित आप्रवासन, महिला तथा युवा सहभागिता र संस्थागत एकतालाई प्राथमिकतामा राख्दै १५ बुँदे ‘डब्लिन घोषणापत्र–२०२६’ जारी गरेको छ।
अगस्ट १० र ११ मा आयरल्याण्डको राजधानी डब्लिनमा ‘पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता’ भन्ने नारासहित सम्पन्न सम्मेलनमा ३५ भन्दा बढी देशका नेपाली प्रतिनिधि, उद्यमी, विज्ञ, महिला तथा युवा नेतृत्व र दोस्रो पुस्ताका गैरआवासीय नेपालीको सहभागिता रहेको थियो। प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट ४०० भन्दा बढीको सहभागिता रहेको घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यताअनुसार वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
गैरआवासीय नेपालीका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयनका लागि सम्बन्धित विधेयक यथाशीघ्र पारित गर्न पनि माग गरिएको छ।
यस्तै, युरोपमा रहेका नेपालीको पूँजी, सीप, अनुभव र सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न लगानीका कानुनी, प्रशासनिक तथा वित्तीय अवरोध हटाई लगानीमैत्री वातावरण बनाउन सरकारसँग आग्रह गरिएको छ।
एनआरएनए डेभलपमेन्ट फण्डलाई थप प्रभावकारी बनाउँदै साना तथा मझौला लगानीकर्तालाई समेत सहभागी गराउन सम्मेलनले आह्वान गरेको छ। फण्डको धितोपत्र जारीसम्बन्धी प्रक्रियालाई अघि बढाएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्डप्रति सम्मेलनले धन्यवादसमेत दिएको छ।
घोषणापत्रमा युरोपसहित विश्वभर रहेका नेपाली श्रमिकको सुरक्षित तथा मर्यादित रोजगारी, सामाजिक सुरक्षा, सीप विकास र प्रभावकारी श्रम कूटनीति सुनिश्चित गर्न जोड दिइएको छ। पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया र सर्बियालगायतका मुलुकमा हुने गैरकानुनी मानव ओसारपसार नियन्त्रण तथा जनचेतना अभियानलाई प्रभावकारी बनाउन पनि सरकार र सम्बन्धित निकायबीच समन्वय गर्न आग्रह गरिएको छ।
महिला नेतृत्व र उद्यमशीलता बढाउने, युवालाई एनआरएनएको नेतृत्वमा अर्थपूर्ण रूपमा सहभागी गराउने तथा दोस्रो पुस्तालाई नेपाली भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोड्ने विषयलाई पनि घोषणापत्रले प्राथमिकतामा राखेको छ। त्यस्तै, विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको ज्ञान र सीपलाई नेपालको विकाससँग जोड्न ज्ञान तथा सीप सञ्जाल निर्माण तथा सुदृढ गर्ने प्रतिबद्धता जनाइएको छ। डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान र नवप्रवर्तनमा नेपाल–डायस्पोरा सहकार्य विस्तार गर्ने घोषणा पनि गरिएको छ।
घोषणापत्रले ब्रिटिस गोर्खाहरूले उठाउँदै आएको असमान पेन्सन र विभेद अन्त्यको माग तथा गोर्खा वंशजका लागि नेपाली नागरिकताको निरन्तरताको विषय सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेको छ। एनआरएनएको संस्थागत सुधारतर्फ पनि सम्मेलनले जोड दिएको छ। सन् २०३० सम्मको मार्गचित्र कार्यान्वयन, संस्थागत पुनर्संरचना तथा पञ्जीकृत सदस्यबाट अनलाइन नेतृत्व चयन गर्ने व्यवस्था कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्न अन्तर्राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गरिएको छ।
सम्मेलनले घोषणापत्रमा समेटिएका निर्णयलाई कार्यान्वयनयोग्य कार्ययोजनामा रूपान्तरण गरी जिम्मेवारी तोक्ने, नियमित अनुगमन गर्ने र प्रगति समीक्षा गर्ने प्रतिबद्धता पनि जनाएको छ। साथै, एनआरएनएको सबैभन्दा ठूलो शक्ति एकता भएकाले आन्तरिक मतभेदभन्दा माथि उठेर सहमति र सहकार्यका साथ अघि बढ्न सम्पूर्ण नेतृत्व तथा सदस्यलाई आह्वान गरिएको छ।
आगामी १८औँ युरोप क्षेत्रीय सम्मेलन आयोजना गर्न बेलायत र पोल्यान्डले इच्छा देखाएका छन्। यी दुईमध्ये एक देशमा सम्मेलन आयोजना गर्ने निर्णय अन्तर्राष्ट्रिय समन्वय परिषद्ले गर्ने घोषणापत्रमा उल्लेख छ।
यी हुन् १५ बुँदा
१ .नेपालको विधानको धारा १४ बमोजिम गैरआवासीय नेपाली नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार तत्काल कार्यान्वयन गर्न गैरआवासीय नेपालीसम्बन्धी विधेयक, २०८३ लाई एनआरएनएका सुझाव समेटी यथाशीघ्र संसदबाट पारित गरी कार्यान्वयन गर्न अनुरोध गर्दछ। साथै एक पटकको नेपाली, सधैंको नेपाली” को मान्यताअनुसार वंशजको नेपाली नागरिकताको निरन्तरता सुनिश्चित गर्न आवश्यक संवैधानिक व्यवस्था गर्न अनुरोध गर्दछ।
२. नेपालको आर्थिक कूटनीतिलाई प्रभावकारी बनाउन युरोपमा रहेका नेपालीहरूको पूँजी, सीप, अनुभव तथा सञ्जाललाई नेपालको आर्थिक विकाससँग जोड्न र गैरआवासीय नेपाली लगानीका कानुनी, प्रशासनिक, वित्तीय तथा प्रक्रियागत अवरोध हटाई लगानीमैत्री वातावरण निर्माण गर्न नेपाल सरकारसमक्ष यो सम्मेलन अनुरोध गर्दछ।
३. एनआरएनए डेभलपमेन्ट फण्ड सम्बन्धमा एनआरएनएले लामो समयदेखि उठाउँदै आएको धितोपत्र जारीसम्बन्धी विषयलाई जारी पुँजीको ८५ प्रतिशतसम्म धितोपत्र जारी गर्न सक्ने गरी कार्यान्वयनको दिशामा अघि बढाउनुभएकोमा नेपाल धितोपत्र बोर्ड, अर्थ मन्त्रालय तथा नेपाल सरकारप्रति यो सम्मेलन हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। साथै यस फण्डमा ठूला लगानीका अतिरिक्त साना तथा मझौला लगानीमा समेत सहभागी हुन गैरआवासीय नेपाली समुदाय तथा सम्बन्धित लगानीकर्ताहरूलाई यो सम्मेलन आहवान गर्दछ ।विभिन्न क्षेत्रीय सम्मेलनहरुमा रोड शोको तयारीका लागि सम्बन्धित क्षेत्र तथा राष्ट्रिय समन्वय परिषद्लाई आग्रह गर्दछ।
४. नेपाललाई विश्वसामु उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न तथा युरोपलगायत विभिन्न मुलुकमा Nepal House लगायत नेपाल प्रवर्द्धनका संस्थागत माध्यमलाई सुदृढ गर्दै नेपाली उत्पादन, पर्यटन, संस्कृति,कला लगायतका अवसरलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। साथै, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, बजारीकरण र ब्रान्डिङका लागि डायस्पोराको सञ्जाल, व्यावसायिक पहुँच तथा अनुभवलाई प्रभावकारी रूपमा परिचालन गर्न आवश्यक पहल गर्न सबैलाई आहवान गर्दछ ।
५. युरोपलगायत विश्वभर रहेका नेपाली श्रमिकको अधिकार, सुरक्षित तथा मर्यादित रोजगारी, सीप विकास, सामाजिक सुरक्षा र प्रभावकारी श्रम कूटनीति सुनिश्चित गर्न आवश्यक नीतिगत सुधार गर्न नेपाल सरकारलाई आग्रह गर्दछ । नियमित आप्रवासनका अवसर तथा वैधानिक श्रम मार्ग (Regular Migration Pathways) लाई सुदृढ गर्न तथा पोर्चुगल, इटाली, टर्की, रोमानिया, क्रोएसिया, सर्बिया लगायतका मुलुकमा हुने गैरकानुनी मानव ओसारपसार नियन्त्रण र जनचेतना अभियान सञ्चालन गर्न नेपाल सरकार, नेपाली कूटनीतिक नियोग तथा सरोकारवालाबीच प्रभावकारी समन्वयका लागि आग्रह गर्दै त्यसका लागि सहकार्य गर्ने प्रतिबद्ता व्यक्त गर्दछ। साथै नेपालीको उल्लेख्य उपस्थिति रहेका मुलुकमा नेपाली दूतावास तथा श्रम सहचारीको व्यवस्था, डेनमार्कस्थित नेपाली दूतावासको निरन्तरताको लागि सरकारसंग आग्रह गर्दछ ।
६. डायस्पोरामा नेपाली महिलाको नेतृत्व, उद्यमशीलता, आर्थिक सहभागिता तथा निर्णय प्रक्रियामा प्रतिनिधित्व बढाउन विशेष कार्यक्रम सञ्चालन गर्दै महिलाको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक आत्मनिर्भरता तथा नेतृत्व विकासलाई एनआरएनएको प्राथमिकतामा राख्दै आवश्यक सहकार्य र समन्वयका लागि आहवान गर्दछ ।
७. एनआरएनएको वर्तमान तथा भविष्यको नेतृत्वमा युवा तथा दोस्रो पुस्ताको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै उनीहरूलाई नेपाली भाषा, संस्कृति, इतिहास, पहिचान र मातृभूमिसँग जोड्न युरोपस्थित नेपाली समुदाय, विद्यालय तथा सम्बन्धित संस्थाबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै, युवा तथा दोस्रो पुस्तालाई एनआरएनएको नेतृत्व र निर्णय प्रक्रियाका महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
८. विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्न Nepali Knowledge and Skills Network निर्माण तथा सुदृढ गर्दै डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका क्षेत्रमा नेपाल–डायस्पोरा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ। साथै, युरोपसहित विश्वभर रहेका नेपाली उद्यमी, व्यवसायी, लगानीकर्ता तथा पेशाकर्मीको Enterprise Mapping गरी उनीहरूको विशेषज्ञता, लगानी क्षमता र बजार पहुँचको तथ्यांक संकलन तथा डिजिटल माध्यमबाट परिचालन गर्न आवश्यक पहल गर्न सरोकारवाला सबैलाई आह्वान गर्दछ।
९. आगामी जनवरीमा आयोजना हुने चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला सम्मेलन तथा प्रथम र दोस्रो पुस्ता सम्मेलन सफल बनाउन नेपाल सरकार, राष्ट्रिय समन्वय परिषद्लगायत सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सहयोग र सहकार्यका लागि यो सम्मेलन आह्वान गर्दछ। साथै, मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर २०२६, ओसेनिया क्षेत्रीय सम्मेलन डिसेम्बर २०२६ तथा अमेरिकाज् क्षेत्रीय सम्मेलन अप्रिल २०२७ मा सफलतापूर्वक आयोजना गर्न आवश्यक सहयोग र सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान गर्दछ।
१०. काठमाडौंमा सम्पन्न संघको रणनीतिक कार्यशालाबाट तयार ‘NRNA Roadmap to 2030’ कार्यान्वयन गर्न आईसीसीले अघि सारेको रिब्रान्डिङको योजना कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ। साथै, सम्पूर्ण पञ्जीकृत सदस्यहरूले अनलाइनमार्फत आईसीसीको नेतृत्व चयन गर्ने नयाँ वैधानिक व्यवस्थालाई कार्यान्वयन गर्न समयमै आवश्यक पूर्वाधार तयार गर्न आईसीसीलाई अनुरोध गर्दछ।
११. यस सम्मेलनबाट पारित घोषणा तथा सुझावलाई कार्यान्वयन योग्य कार्ययोजनामा रूपान्तरण गरी सम्बन्धित विभाग, क्षेत्रीय संरचना, राष्ट्रिय समन्वय परिषद् तथा सरोकारवाला निकायको जिम्मेवारी निर्धारण गर्ने र नियमित अनुगमन तथा प्रगति समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।
१२. एनआरएनएको सबैभन्दा ठूलो शक्ति नै एकता हो। संस्थाको हित, उद्देश्य र नेपाली डायस्पोराको साझा अधिकारका लागि आईसीसी, एनसीसी तथा सम्पूर्ण अग्रज, अभियन्ता र सदस्यहरूलाई आपसी मतभेदभन्दा माथि उठी एकता, सहमति र सहकार्यका साथ एकजुट भएर अघि बढ्न यो सम्मेलन आह्वान गर्दछ।
१३. ब्रिटिस गोर्खाहरूले लामो समयदेखि उठाउँदै आएको असमान पेन्सन तथा विभेद अन्त्यको माग र गोर्खा वंशजका लागि नेपाली नागरिकताको निरन्तरतासम्बन्धी मागलाई यथाशीघ्र सम्बोधन गर्न यो सम्मेलन नेपाल सरकारसमक्ष हार्दिक आग्रह गर्दछ। साथै, विश्वप्रसिद्ध पर्वतारोही स्व. निर्मल पुर्जाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले नेपालको नाम, पहिचान र प्रतिष्ठालाई विश्वभर उँचो बनाउन पुर्याउनुभएको अतुलनीय योगदानको उच्च प्रशंसा गर्दछ।
१४. इजरायललगायतका देशहरूमा सरकार–सरकार (G2G) सम्झौतामार्फत कार्यरत नेपाली कामदारहरूको सेवा–सुविधा तथा रोजगारीको अवधि थप गर्न सम्बन्धित सेवा प्रदायक कम्पनी तथा प्रतिष्ठानहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्दछ।
१५. संघको आगामी १८औँ युरोप क्षेत्रीय सम्मेलन आयोजना गर्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूके र पोल्याण्डले इच्छा जाहेर गरेकोमा आईसीसीले आवश्यक निर्णय गरी यी दुईमध्ये एक देशमा सम्मेलन आयोजना गरिनेछ।
अन्त्यमा, यस सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, सहकार्य र योगदान पुर्याउनुहुने आयोजक राष्ट्रिय समन्वय परिषद् आयरल्याण्ड, आयोजक समितिका सदस्यहरू, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यहरू, युरोप क्षेत्रका सम्पूर्ण राष्ट्रिय समन्वय परिषद्हरू, प्रायोजकहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू, काठमाडौंस्थित सचिवालयका कर्मचारीहरु, तथा सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछ।