काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको निषेधित हवाई क्षेत्रमा एउटा जहाज छिरेको घटना सार्वजनिक भएको छ ।
मंगलबार ओहायो राज्यको जेनेभामा ट्रम्प सहभागी भएको कार्यक्रम स्थलको आकाशमा यात्रुवाहक विमान छिरेको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।राष्ट्रपति ट्रम्प वा उच्चपदस्थ अधिकारीहरू भ्रमणमा रहेका बेला उनीहरूको सुरक्षाका लागि निश्चित क्षेत्रमा अस्थायी रूपमा नो–फ्लाई जोन लागू गरिन्छ।उनीहरू कार्यक्रमस्थलबाट नबाहिरिँदासम्म हवाई क्षेत्रमा उडान प्रतिबन्ध लगाइन्छ।त्यसका बाबजुद मंगलबार एउटा यात्रुवाहक जहाज प्रवेश गरेपछि अमेरिकी सेनाको लडाकू विमान नै परिचालन गरिएको भनेर टाइम्सले लेखेको छ। जेनेभामा प्याट्रियट गेम्स नाम गरिएको खेलकुद प्रतियोगिता भइरहेको थियो। यात्रुवाहक जहाज निषेधित हवाई क्षेत्रमा प्रवेश गरेपछि अमेरिकी लडाकु विमानहरूले सुरक्षित रूपमा उक्त हवाई क्षेत्रबाट बाहिर निकालेको उत्तर अमेरिकी एरोस्पेस डिफेन्स कमान्ड नोरडले जनाएको छ।सुरूमा लडाकु विमानहरूले विमानका पाइलटलाई प्रतिबन्धित क्षेत्रबाट बाहिर जान संकेत गर्न फ्लेयरसमेत प्रहार गरेका थिए।
पछि लडाकु विमान आकाशमै पठाएर त्यसलाई बाहिर निकालेको हो।यो घटना एक साताभित्र ट्रम्पसँग सम्बन्धित प्रतिबन्धित हवाई क्षेत्रमा विमान प्रवेश गरेको कम्तीमा चौथो घटना हो।यसअघि आइतबार न्यु जर्सीको बेडमिन्स्टरस्थित ट्रम्पको गोल्फ कोर्समाथिको प्रतिबन्धित हवाई क्षेत्रमा तीनवटा विमान प्रवेश गरेका थिए।ती घटनाहरू दुर्घटनावश भएको देखिएको थियो।त्यसपछि नोरडले पाइलटहरूलाई संघीय सरकारले जारी गर्ने हवाई क्षेत्र बन्दसम्बन्धी सूचनाहरू नियमित रूपमा जाँच गर्न स्मरण गराएको थियो।यसअघि जुलाई १९ मा पनि बेडमिन्स्टरमाथिको प्रतिबन्धित हवाई क्षेत्रमा तीनवटा विमान प्रवेश गरेका थिए । तीमध्ये दुई घटनामा नोरडका एफ–१६ लडाकु विमानले फ्लेयर प्रयोग गरेर विमानलाई प्रतिबन्धित क्षेत्रबाट बाहिर निकालेका थिए।मंगलबार ओहायोमा भएको घटना भने फ्लेयर प्रयोग गरिएका कारण अघिल्ला घटनाभन्दा बढी गम्भीर रूपमा लिइएको देखिएको भनेर न्युयोर्क टाइम्सले लेखेको छ।यद्यपि, विमान जानाजानी प्रतिबन्धित क्षेत्रमा प्रवेश गरेको थियो वा भूलवश भन्नेबारे नोरडले थप विवरण सार्वजनिक गरेको छैन।