काठमाडौँ । सिरियाको अदालतले अपदस्थ राष्ट्रपति मृत्युदण्डको सजाय सुनाएको छ। राष्ट्रपति बसर अल–असदलाई युद्ध अपराध र मानवताविरुद्धका गम्भीर अपराधमा दोषी ठहराउँदै मृत्युदण्डको सजाय सुनाएको छ । डिसेम्बर २०२४ मा उनको सरकार सत्ताच्युत भएपछि असद परिवारको पाँच दशकभन्दा लामो शासन अन्त्य भएको थियो।
त्यसलगत्तै असद आफ्ना परिवारसहित राजधानी दमास्कसबाट भागेर रुसको राजधानी मस्कोमा शरण लिँदै आएकाले यो सजाय उनको अनुपस्थितिमै सुनाइएको हो। सिरियाको नयाँ अन्तरिम सरकारले मस्कोबाट असदलाई सुपुर्दगी गराउन सक्नेछ या छैन भन्ने विषय अझै अनिश्चित रहेको छ।
अदालतले सोही मुद्दामा असदका काकाका छोरा तथा दक्षिणी सिरियाको दारा प्रान्तका राजनीतिक सुरक्षा विभागका पूर्वप्रमुख आतिफ नजीबलाई पनि मृत्युदण्डको सजाय सुनाएको छ। सजाय सुनाउने क्रममा नजीब भने अदालतको पिँजडाभित्र प्रत्यक्ष उपस्थित रहेका थिए। सिरियाको नयाँ सरकारले सुरु गरेको कानुनी प्रक्रियामा मुद्दाको सामना गर्ने उनी अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन्। उनलाई मानिसहरूको हत्या र ’मृत्यु निम्त्याउने यातना’ दिइएको लगायतका गम्भीर अपराधहरूमा दोषी ठहर गरिएको छ।
सन् २०११ को मार्च महिनामा दारा क्षेत्रमा सरकारविरोधी नारा लेखेकै आरोपमा केही किशोरहरूलाई पक्राउ गरी यातना दिएपछि असद शासनविरुद्ध विद्रोह सुरु भएको थियो। तत्कालीन सुरक्षा बलले प्रदर्शनकारीहरूमाथि गरेको हिंसात्मक दमनका कारण उक्त विरोध प्रदर्शन देशभर फैलिँदै भयानक गृहयुद्धमा परिणत भएको थियो; जसमा हजारौँ नागरिकले ज्यान गुमाएका थिए। असद शासनसँग सम्बन्धित अधिकारीहरूमाथि मुद्दा चलाउन यसै वर्षको सुरुवातदेखि कानुनी प्रक्रिया थालेको अन्तरिम सरकारले गत डिसेम्बरमै असदविरुद्ध हत्या र यातनाको आरोपमा पक्राउ पुर्जीसमेत जारी गरिसकेको थियो।