काठमाडौं । कोसोभोको संसद्मा विपक्षी सांसद टाइम काद्रियाजले कार्यवाहक प्रधानमन्त्री आल्बिन कुर्तीमाथिअण्डा प्रहारगरेका छन् ।
घटनापछि शनिबार संसद् बैठक स्थगित गरिएको थियो । जुन ७ मा भएको संसदीय निर्वाचनपछि नयाँ संस्थाहरू गठन गर्ने विषयमा कुर्तीको ‘भेतेभेन्दोस्जे’ पार्टी र विपक्षी समूहबीच वार्ता अड्किरहेका बेला यो घटना भएको हो ।
उक्त पार्टीले संसद्का १२० मध्ये ५३ सिट जितेर सबैभन्दा ठूलो राजनीतिक शक्ति बने पनि एक्लै सरकार गठन गर्न आवश्यक स्पष्ट बहुमत भने हासिल गर्न सकेको छैन ।
विपक्षी दल ‘एलाइन्स फर द फ्युचर अफ कोसोभो’की सांसद काद्रियाज पहिलो लहरमा बसिरहेका कुर्तीतर्फ अगाडि बढिन् र उनीतर्फ अण्डा प्रहार गरिन् ।
सुरक्षाकर्मी र अन्य सांसदहरूले बीचमा आएर उनलाई रोक्न खोज्दा उनले धिक्कार छ तिमीलाई ! भन्दै चिच्याएकी थिइन् । झडपपछि संसदीय बैठक स्थगित गरिएको थियो । सुरक्षाकर्मीहरूले कुर्तीलाई घेरेपछि सभामुखले संसद्को प्रत्यक्ष प्रसारण काट्न आदेश दिएका थिए । काद्रियाजले पछि सामाजिक सञ्जालमा घटनाको भिडियो फुटेजसमेत सार्वजनिक गरेकी थिइन् ।
राजनीतिक सम्झौताको अभावबीच नयाँ राष्ट्रपति चयनका लागि थप समय माग्दै कुर्तीले संसद्को सभामुख पदका लागि उमेदवार प्रस्ताव नगरेपछि विवाद चर्किएको थियो ।