काठमाडौं । थाइल्यान्डको नोनथाबुरी प्रान्तस्थित एक विद्यालयमा शुक्रबार भएको गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । गोली लागेर उपचाररत १२ वर्षीया बालिकाको शनिबार मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो ।
नोनथाबुरी प्रान्तको जनसम्पर्क विभागले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शनिबार साँझ ४ बजेसम्म घटनामा ९ जनाको मृत्यु भएको र १४ जना अझै अस्पतालमा उपचाररत रहेको जनाएको छ । गोलीकाण्ड नोनथाबुरीस्थित डेब्सिरिन नोनथाबुरी विद्यालयमा भएको हो । प्रहरीका अनुसार १४ वर्षीय एक विद्यार्थीले गोली चलाउँदा विद्यालयका विद्यार्थी र कर्मचारीसहित धेरै जना घाइते भएका थिए । प्रहरीका अनुसार विद्यालय जानुअघि ती किशोरले आफ्ना हजुरबुबा र हजुरआमालाई समेत गोली हानेका थिए । त्यसपछि विद्यालयमा गोली चलाएर उनले आफैंलाई पनि गोली हानी आत्महत्या गरेका थिए ।
गोली लागेर घाइते भएकी १२ वर्षीया बालिकाको उपचारका क्रममा शनिबार मृत्यु भएको हो । उनको विद्यालयले सामाजिक सञ्जालमार्फत विद्यार्थीको निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले शनिबार विद्यालयका केही विद्यार्थी र शिक्षकसँग सोधपुछ गरेको छ । प्रहरीले किशोरले गोली चलाउनुको कारण, उसले प्रयोग गरेको हतियार तथा गोली कहाँबाट प्राप्त गर्यो भन्ने विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानको विवरण आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ । शुक्रबार भएको घटनापछि आक्रमणकारीसहित ८ जनाको मृत्यु भएको बताइएको थियो । उपचाररत बालिकाको मृत्यु भएपछि मृतकको संख्या ९ पुगेको हो । घटनापछि थाइल्यान्डमा विद्यालयको सुरक्षा र बन्दुक नियन्त्रणसम्बन्धी बहस फेरि चर्किएको छ । प्रधानमन्त्री अनुतिन चार्नविराकुलले घटनापछि बन्दुकसम्बन्धी नियमलाई थप कडा बनाउने प्रतिबद्धता जनाएका छन् ।