काठमाडौं । विश्वको प्रमुख ऊर्जा व्यापारिक मार्ग हर्मुज जलमार्ग पुनः अन्तर्राष्ट्रिय जहाज आवागमनका लागि खुल्ने विषय थप जटिल बनेको छ। इरानले जलमार्ग खोल्नुअघि अमेरिकाले प्रतिबन्ध हटाउनेदेखि सैन्य उपस्थिति घटाउनेसम्मका विभिन्न सर्त पूरा गर्नुपर्ने जनाएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बाघेर जोल्घादरले अमेरिकाले इरानमाथिको नौसैनिक नाकाबन्दी हटाउनुपर्ने, सबै प्रतिबन्ध अन्त्य गर्नुपर्ने, इरान आसपासबाट अमेरिकी सेना फिर्ता गर्नुपर्ने, युद्ध क्षतिपूर्ति दिनुपर्ने तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग गरेका छन्।
इरानले आफ्ना क्षेत्रीय सहयोगीमाथि अमेरिकी आक्रमण र इरानविरुद्धका धम्की रोक्नुपर्ने सर्तसमेत अघि सारेको छ। यी मागबारे ह्वाइट हाउसले तत्काल औपचारिक प्रतिक्रिया दिएको छैन।
यसअघि अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौतापछि हर्मुज पुनः खुल्ने अपेक्षा गरिएको थियो। तर सम्झौताको कार्यान्वयन र इरानको आणविक कार्यक्रम तथा प्रतिबन्धसम्बन्धी विषयमा दुवै पक्षबीच मतभेद कायमै छन्।
यसैबीच इरान र ओमानबीच हर्मुजमा जहाज आवागमन सञ्चालन गर्ने सम्भावित व्यवस्थाबारे वार्ता भइरहेको छ। इरानी विदेशमन्त्री अब्बास अराघ्चीले दुई देश सम्झौताको नजिक पुगेको बताएका छन्। यद्यपि उनले जलमार्ग खुल्न अन्य राजनीतिक तथा सुरक्षा सर्तसमेत पूरा हुनुपर्ने बताएका छन्।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि अमेरिका वार्ता प्रक्रियामा संलग्न रहेको संकेत गरेका छन्। उनका अनुसार मुख्य चुनौती जहाजलाई सुरक्षित रूपमा जलमार्ग पार गराउने व्यवस्था गर्नु हो। समुद्रमा रहेका सम्भावित विस्फोटक हटाउने र व्यावसायिक जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ छ।
हर्मुज जलमार्ग लामो समय अवरुद्ध हुँदा विश्व ऊर्जा बजारमा समेत दबाब परेको छ। समुद्री यातायातसम्बन्धी तथ्यांकअनुसार युद्धअघि दैनिक औसत करिब १३० जहाज आवतजावत गर्ने यो मार्गमा अहिले दैनिक १२ देखि १५ वटा जहाज मात्र पार हुने गरेका छन्।
यसैबीच यूएई र ओमानले हर्मुजमा व्यावसायिक जहाजमाथि भएका आक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। ओमानले भने इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको भन्दै वार्ताको वातावरण बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको छ।
अब हर्मुज जलमार्ग कहिले खुल्छ र कुन सुरक्षा तथा राजनीतिक व्यवस्थाअन्तर्गत जहाज सञ्चालन हुन्छ भन्ने विषय अमेरिका–इरान–ओमानबीच जारी वार्ताको परिणाममा निर्भर देखिएको छ।