बुखारेष्ट । यहि अगष्ट १० र ११ मा एनआरएनएको १७औँ यूरोप क्षेत्रीय सम्मेलन हुने भएको छ ।
आयरल्यान्डको डब्लिनमा १०–११ अगस्टमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीको प्रमुख आथित्यतामा १७औँ यूरोप क्षेत्रीय सम्मेलन हुने भएको हो । उक्त कार्यक्रममा युरोपसहित एसिया–प्रशान्त क्षेत्र, अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा मध्यपूर्वका विभिन्न देशबाट करिब २५० जना प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
बैठकमा गैरआवासीय नेपालीको नागरिकता, अधिकार तथा डायस्पोरासँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने बताइएको छ। गैरआवासीय नेपालीहरूले आफ्ना समस्या, माग तथा सरोकार प्रत्यक्ष रूपमा सरकारका प्रतिनिधिसमक्ष राख्ने अवसरका रूपमा समेत बैठकलाई लिइएको छ।
कार्यक्रममा बेलायतका लागि कार्यवाहक राजदूत बिपिन दुवाडी र परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुबेदीसमेतको समेत सहभागी हुने जनाइएको छ।सन् २००३ मा स्थापना भएको एनआरएनएले विश्वभर रहेका नेपाली तथा नेपाली मूलका समुदायलाई एक साझा मञ्चमा जोड्दै उनीहरूको हकहित संरक्षण, नेपालसँगको सम्बन्ध सुदृढीकरण तथा विदेशमा आर्जित ज्ञान, सीप, पूँजी र अनुभवलाई नेपालको विकासमा उपयोग गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ।
हाल संघको सञ्जाल करिब ९२ देशमा विस्तार भइसकेको छ र एक लाखभन्दा बढी सदस्य आबद्ध छन्। एनआरएनएको विस्तारसँगै यूरोप क्षेत्रीय सम्मेलनहरू यहाँस्थित नेपाली समुदायबीच समन्वय, साझा नीति निर्माण, संगठनात्मक सुदृढीकरण तथा नेपालसँगको सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएका छन्।
१७औँ युरोप क्षेत्रीय सम्मेलन आयरल्याण्डको राजधानी डब्लिनस्थित र्याडिसन होटलमा आयोजना हुँदैछ