काठमाडौं । थाइल्यान्डको राजधानी बैंकक नजिकै रहेको एक विद्यालयमा भएको गोलीकाण्डमा पाँच शिक्षकसहित सात जनाको मृत्यु भएको छ।
घटनामा संलग्न रहेको आरोप लागेका १४ वर्षीय विद्यार्थी पनि मृत अवस्थामा फेला परेका छन्। थाइ अधिकारीहरूका अनुसार उक्त किशोर विद्यालय जानुअघि आफ्नै घरमा रहेका हजुरबुबा र हजुरआमाको पनि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुवै जना घरमै मृत अवस्थामा भेटिएका थिए।
प्रहरीले घटनामा प्रयोग गरिएको ९ एमएम पिस्तोल किशोरका हजुरबुबाकै रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धान जारी रहेकाले घटनाका सबै विवरण सार्वजनिक भइसकेका छैनन्।
घटनाका प्रत्यक्षदर्शी एक विद्यार्थीका अनुसार गोली चलेपछि विद्यालयमा त्रास फैलिएको थियो। सुरक्षाकर्मी घटनास्थल पुगेपछि अवस्था नियन्त्रणमा लिइएको थियो।
विद्यालयका एक शिक्षकले आरोपित विद्यार्थी पढाइ र व्यवहार दुवैमा सामान्य रहेको र यसअघि आक्रामक व्यवहारबारे कुनै जानकारी नभएको बताएका छन्। यद्यपि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूको भनाइ छ।
यस घटनापछि थाइल्यान्डमा बन्दुक नियन्त्रणसम्बन्धी कानुन र सुरक्षा व्यवस्थामाथि व्यापक बहस सुरु भएको छ। प्रमुख प्रतिपक्षी दलका नेताले शैक्षिक संस्थाको सुरक्षालाई प्राथमिकतामा राख्दै बन्दुक नियन्त्रणसम्बन्धी नीतिको पुनरावलोकन गर्न सरकारसँग आग्रह गरेका छन्।
घटनाप्रति थाइल्यान्डका विभिन्न राजनीतिक दल तथा सार्वजनिक व्यक्तित्वहरूले गहिरो दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्। प्रहरीले घटनाको कारण, पृष्ठभूमि र सुरक्षा व्यवस्थासम्बन्धी पक्षहरूको विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।