काठमाडौँ । रुस र युक्रेनबीचको युद्ध पाँचौं वर्षमा प्रवेश गरेको छ। सन् २०२२ फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध अझै पनि रोकिएको छैन।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणको उद्देश्य युक्रेनलाई असैनिकीकरण र नाजीकरणमुक्तू बनाउनु रहेको बताएका थिए। तर युक्रेनले उक्त दाबी अस्वीकार गर्दै आएको छ। युद्धको सुरुआती चरणमा रुसी सेना युक्रेनका पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रसम्म पुगेको थियो भने राजधानी किएभको बाहिरी क्षेत्रमा समेत पुगेको थियो। यद्यपि, युक्रेनी सेनाको कडा प्रतिरोधपछि सन् २०२२ को अन्त्यतिर युक्रेनले धेरै भूभाग पुनः आफ्नो नियन्त्रणमा ल्यायो। त्यसयता दुवै पक्षबीचको युद्ध अपेक्षाकृत स्थिर भए पनि पछिल्ला महिनाहरूमा रुसले विशेषगरी पूर्वी क्षेत्रमा बिस्तारै आफ्नो नियन्त्रण विस्तार गरिरहेको बताइएको छ।
यसैबीच, युक्रेनले रुसका दुई प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार यारोस्लाभलस्थित (स्लाभनेफ्ट–यानोस) र बास्कोर्तोस्तानस्थित (बाशनेफ्ट–नोभोइल) तेल प्रशोधन केन्द्रमा आक्रमण गरिएको हो। साथै, कालो सागरमा रहेका रुसका दुई सैन्य गस्ती डुंगा र तथाकथित छायाँ बेडाू का जहाजलाई पनि निशाना बनाइएको उनले बताएका छन्। उता, यारोस्लाभलका गभर्नर मिखाइल एभ्राएभले युक्रेनका सबै ड्रोन खसालिएको दाबी गरेका छन्। तर ड्रोनका अवशेष खस्दा तीन वटा घरमा आगलागी भएको, केही अपार्टमेन्टका झ्याल फुटेको र सवारीसाधनमा क्षति पुगेको उनले बताएका छन्। घटनामा मानवीय क्षति भएको वा नभएको विषयमा विवरण संकलन भइरहेको जनाइएको छ। यता, रुसले पनि युक्रेनमाथि आक्रमण जारी राखेको छ। युक्रेनको बालाक्लिया सहरमा रुसी ड्रोन आक्रमणबाट कम्तीमा तीन जनाको मृत्यु भएको र धेरै घाइते भएको युक्रेनी आपत्कालीन सेवाले जनाएको छ। आक्रमणका कारण आवासीय क्षेत्रमा आगलागीसमेत भएको बताइएको छ।