काठमाडौँ ।बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेकी छन्। दुई वर्षपछि बुधबार भर्चुअल माध्यमबाट २५ मिनेट सम्बोधन गर्दै उनले जेल हालिए पनि वा मृत्युदण्ड दिइए पनि आफ्नो निर्णय नबदलिने बताएकी हुन्।
क्यामेरा बन्द राखेर गरिएको सम्बोधनमा हसिनाले आफूले स्वेच्छाले बंगलादेश नछोडेको दाबी गरिन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासतर्फ अघि बढेपछि आफूलाई त्यहाँबाट निस्कन ३०–४० मिनेट मात्र समय रहेको र त्यसबेला देश छाड्नुपर्ने अवस्था आउने अनुमान नभएको उनको भनाइ थियो।
उनले आफ्नो पैतृक गाउँ तुंगीपाडा जाने तयारी गरिरहेकै बेला परिस्थितिका कारण देश छोड्नुपरेको बताइन्। आफ्नाविरुद्ध चलाइएका कानुनी कारबाही गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यबाट प्रेरित रहेको पनि उनले आरोप लगाइन्।
हसिना अगस्ट २०२४ देखि भारतमा बस्दै आएकी छन्। विद्यार्थी आन्दोलनपछि उनको सरकार ढलेको थियो र उनले ५ अगस्ट २०२४ मा ढाका छाडेकी थिइन्।