एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा मङ्गलबार दिउँसो आएको भारी वर्षा र भीषण आँधीबेहरीसँगै परेको चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार चट्याङका कारण राज्यका गिरिडीह, दुम्का र लातेहार जिल्ला सबैभन्दा बढी प्रभावित भएका छन्। मृतकमध्ये गिरिडीहमा ९ जना, दुम्कामा ३ जना र लातेहारमा २ जना रहेका छन्।
घटनामा परी घाइते भएका आठ जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यसैबिच, भारतको मौसम विज्ञान विभाग (क्ष्ःम्) ले बुधबारदेखि शनिबारसम्म झारखण्डसहित छिमेकी क्षेत्रहरूमा व्यापक र अविरल वर्षा हुने पूर्वानुमान गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। भारतमा मनसुन सुरु भएसँगै बर्सेनि हुने प्राकृतिक विपत्ति र चट्याङका घटनामा परी सयौँ मानिसले ज्यान गुमाउने गरेका छन्।