बुखारेस्ट । रोमानियाको बुखारेस्टमा राहदानी नवीकरण गरिएका राहदानी वितरण गरिने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, रोमानियाले एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।
संघका अनुसार नेपाली राजदूतावास, बर्लिनले सञ्चालन गरेको घुम्ती राहदानी नवीकरण शिविरअन्तर्गत नवीकरण गरिएका राहदानीहरू २०२६ अगस्ट ५ देखि १२ तारिखसम्म वितरण गरिनेछ।
राहदानी वितरण बुखारेस्टस्थित माछापुच्छ्रे एसियन रेस्टुरेन्ट एन्ड बारमा बिहान ९:०० बजेदेखि बेलुका ५:०० बजेसम्म हुनेछ। राहदानी बुझ्न जाँदा सेवाग्राहीले पुरानो राहदानी, राहदानी नवीकरण गर्दा प्राप्त आवेदन रसिद आवश्यक परे अन्य परिचय खुल्ने कागजात साथमा लैजानुपर्नेछ।
एनआरएनए रोमानियाले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आफ्नै राहदानी बुझ्न अनुरोध गरेको छ। विशेष परिस्थितिमा प्रतिनिधिमार्फत राहदानी बुझ्नुपर्ने भए नेपाली राजदूतावासको निर्देशनअनुसार आवश्यक कागजात साथमा ल्याउनुपर्ने जनाएको छ ।
