काठमाडाैँ । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान करिब ३:२१ बजे चिमी सडक खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। बाकाउ आपत्कालीन सेवा निर्देशनालयका अनुसार, दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल, एम्बुलेन्स र सघन उपचार मोबाइल युनिटसहितको टोली घटनास्थलमा पुगेको थियो। तर, उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो।
प्रारम्भिक अनुसन्धानअनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ। यद्यपि, उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।