इन्डोनेसियाको समुद्री क्षेत्रमा यात्रुवाहक फेरीमा आगलागी हुँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता रहेका छन्।
राष्ट्रिय खोज तथा उद्धार एजेन्सी (बसरनास)का अनुसार दुर्घटनाग्रस्त फेरीमा २७१ जना यात्रु सवार थिए। फेरी पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ जाँदै गर्दा मदुरा द्वीप नजिक समुद्रमै आगलागी भएको थियो।
आगलागी सुरु भएपछि फेरीका कप्तानले तत्काल सम्बन्धित निकायलाई जानकारी दिएका थिए। त्यसलगत्तै उद्धार टोली घटनास्थल पुगेर यात्रुको उद्धार अभियान सुरु गरेको थियो।
स्थानीय सञ्चारमाध्यममा सार्वजनिक दृश्यहरूमा यात्रुहरू लाइफ ज्याकेट लगाएर लाइफबोटमा उद्धारको प्रतीक्षा गरिरहेको देखिन्छ। केही भिडियोमा आगो र बाक्लो धुवाँले घेरिएको फेरीबाट यात्रुहरू समुद्रतर्फ हाम फालेर ज्यान बचाउने प्रयास गरिरहेको दृश्य पनि देखिएको छ।
हाल बेपत्ता ४१ जनाको खोजी कार्य तीव्र पारिएको छ। आगलागीको कारण खुल्न बाँकी रहेकाले सम्बन्धित निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ।