काठमाडौं । ग्रीसमा भीषण डढेलो नियन्त्रण गर्ने अभियानका क्रममा दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार राजधानी एथेन्सको उत्तरपश्चिमस्थित एटिका क्षेत्रमा फैलिएको डढेलोमाथि पानी खन्याउने क्रममा आइतबार दुर्घटना भएको हो।
दुर्घटनामा एउटा हेलिकप्टरमा सवार एक ग्रीक र एक डेनिस नागरिकको मृत्यु भएको छ। अर्को हेलिकप्टरमा रहेका एक ग्रीक र एक बेलायती चालक दलका सदस्य भने सकुशल रहेका छन्।
प्रारम्भिक विवरणअनुसार कम उचाइमा उडिरहेका दुई हेलिकप्टर एकअर्कालाई क्रस गर्ने क्रममा ठोक्किएका थिए। त्यसक्रममा तल रहेको हेलिकप्टरको मुख्य रोटर माथिल्लो हेलिकप्टरमा ठोक्किएपछि माथिल्लो हेलिकप्टर आगो बल्दै जमिनमा खसेको बताइएको छ। सामाजिक सञ्जालमा घटनाको भिडियो सार्वजनिक भए पनि त्यसको आधिकारिक पुष्टि भएको छैन।
ग्रीसको अग्नि नियन्त्रण सेवाले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
यसैबीच, एथेन्सबाट करिब ६० किलोमिटर उत्तरपश्चिमस्थित पोर्टो जर्मेनो क्षेत्रमा फैलिएको डढेलोले हालसम्म १०० भन्दा बढी घरमा क्षति पुर्याइसकेको छ। तीव्र हावाका कारण आगो बस्ती र सैन्य अभ्यास क्षेत्रसम्म फैलिएको छ। आगलागीका कारण केही विस्फोट नभएका गोला–बारुदमा समेत आगो लागेको अधिकारीहरूले बताएका छन्।
उद्धार टोलीले करिब ३० हजार जनसंख्या रहेको मेगारा सहरतर्फ आगो फैलिन नदिन प्रयास तीव्र बनाएको छ। आसपासका बस्ती र औद्योगिक क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आपत्कालीन सूचना जारी गरिएको छ।
ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले अत्यधिक गर्मी, शक्तिशाली हावा र प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रण चुनौतीपूर्ण बनेको बताएका छन्। प्रारम्भिक अनुसन्धानले बोयोटिया क्षेत्रमा सुरु भएको आगलागी निजी विद्युत् प्रसारण लाइनमा सर्ट भएपछि लागेको हुन सक्ने संकेत गरेको छ।
उता स्पेनमा पनि गत सातादेखि फैलिएको डढेलो अधिकांश क्षेत्रमा नियन्त्रणमा आए पनि केही स्थानमा पुनः आगो बलिरहेको छ। युरोपका विभिन्न मुलुक अहिले डढेलोसँगै गम्भीर खडेरीको समस्यासमेत सामना गरिरहेका छन्।
कम वर्षाका कारण राइन र ड्यान्युबजस्ता प्रमुख नदीहरूको जलस्तर ऐतिहासिक रूपमा घटेको छ। हंगेरीमा ड्यान्युब नदीको पानी चार दशकयताकै न्यून स्तरमा झरेपछि देशको एकमात्र आणविक विद्युत् केन्द्र पहिलोपटक बन्द गरिएको छ। सर्बियामा पनि जलस्तर घट्दा सबैभन्दा ठूलो जलविद्युत् केन्द्रको विद्युत् उत्पादन उल्लेख्य रूपमा प्रभावित भएको अधिकारीहरूले बताएका छन्।