काठमाडौं । अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षा अवस्था थप जटिल बनेमा तत्काल क्षेत्र छाड्न तयारी अवस्थामा रहन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले सार्वजनिक गरेको ‘सिक्युरिटी अलर्ट’मा मध्यपूर्व र अन्य क्षेत्रमा रहेका अमेरिकी नागरिक, कूटनीतिक नियोग तथा अमेरिकी स्वार्थका संरचनामाथि आक्रमणको जोखिम बढ्न सक्ने उल्लेख गरिएको छ। मन्त्रालयले विशेषगरी इरान तथा उससँग आबद्ध समूहबाट सम्भावित सुरक्षा चुनौती रहन सक्ने आकलन गरेको छ।
यो चेतावनी अमेरिकी सञ्चारमाध्यमहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध थप सैन्य कारबाहीको सम्भावनाबारे विचार गरिरहेको समाचार सार्वजनिक भइरहेका बेला आएको हो।
अमेरिकाले जारी गरेको सूचनामा मध्यपूर्वमा रहेका नागरिकलाई अतिरिक्त सावधानी अपनाउन, उडान रद्द हुने, हवाई क्षेत्र बन्द हुन सक्ने तथा यात्रामा अवरोध आउन सक्ने अवस्थाका लागि पूर्वतयारी गर्न आग्रह गरिएको छ।
यो सुरक्षा सूचना बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) स्थित अमेरिकी दूतावासमार्फत पनि पुनः सार्वजनिक गरिएको छ। ती देशमा रहेका अमेरिकी नागरिकलाई आवश्यक परे तत्काल प्रस्थान गर्न तयार रहन तथा मध्यपूर्व यात्रा गर्ने योजना बनाएका अन्य नागरिकलाई आफ्नो निर्णय पुनर्विचार गर्न सुझाव दिइएको छ।
यसअघि इरानले पनि मध्यपूर्वमा अमेरिकाले तनाव बढाएको आरोप लगाउँदै अमेरिका वा उसका सैन्य अभियानलाई सहयोग गर्ने क्षेत्रीय मुलुकहरू युद्धको प्रभावबाट अछुतो नरहने चेतावनी दिएको थियो।
यसैबीच, केही अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले इरानको ऊर्जा पूर्वाधारलाई लक्षित गरी सम्भावित सैन्य अभियानबारे छलफल गरिरहेको दाबी गरेका छन्। सोही विषयमा ह्वाइट हाउसमा मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको समाचारमा उल्लेख छ। यद्यपि, ह्वाइट हाउसले यसबारे औपचारिक पुष्टि गरेको छैन भने केही राजनीतिक सल्लाहकारहरूले प्रस्तावित सैन्य विकल्पप्रति असहमति जनाएको पनि ती सञ्चारमाध्यमहरूले बताएका छन्।