काठमाडौं । अष्ट्रेलियाली सरकारले दक्ष कामदार भिसाका लागि अष्ट्रेलियाको यस्तो नयाँ नियम लागू गरेको छ । अष्ट्रेलियाली सरकारले २५ जुलाई २०२६ देखि लागू भएको मन्त्रीस्तरीय निर्देशन ११९ अन्तर्गत पुरानो निर्देशन १०५ लाई प्रतिस्थापन गरेको हो।
नयाँ व्यवस्थाअनुसार उच्च माग भएका सीपयुक्त कामदार भिसा (उपवर्ग ४८२) सहित क्षेत्रीय तथा रोजगारदाता–प्रायोजित विभिन्न दक्ष कामदार भिसालाई प्राथमिकता दिइनेछ। यसअघि प्राथमिकता सूचीमा नपरेको उपवर्ग ४८२ पनि अब प्राथमिकतामा समावेश गरिएको छ।
सरकारले यो व्यवस्था नयाँ आवेदनका साथै २५ जुलाईअघि नै दर्ता भई प्रक्रियामा रहेका आवेदनमा पनि लागू हुने जनाएको छ। यसका कारण केही आवेदकको भिसा प्रक्रिया छिटो हुने तथा केहीको प्रतीक्षा समय लम्बिन सक्ने अनुमान गरिएको छ।
विशेषगरी निर्माण, स्वास्थ्य, शिक्षा, रक्षा तथा कानुन कार्यान्वयनसँग सम्बन्धित क्षेत्रमा कार्यरत तथा अष्ट्रेलियाभित्र रहेका रोजगारदाता–प्रायोजित कामदारले नयाँ व्यवस्थाबाट बढी लाभ पाउने अपेक्षा गरिएको छ। यद्यपि अष्ट्रेलियाबाहिर रहेका र प्राथमिकता सूचीमा नपर्ने पेशाका आवेदकको भिसा प्रक्रिया तुलनात्मक रूपमा ढिलो हुन सक्ने बताइएको छ।
यससँगै सरकारले राष्ट्रिय नवप्रवर्तन तथा ग्लोबल ट्यालेन्ट भिसाका लागि छुट्टै मन्त्रीस्तरीय निर्देशन पनि लागू गरेको जनाएको छ।







