तेहरान । इरानले अमेरिकासँग तत्काल कुनै वार्ताको योजना नरहेको स्पष्ट गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको वार्तासम्बन्धी दाबी अस्वीकार गरेको छ ।
इरानी उपविदेशमन्त्री काजेम घरिबाबादीले तेहरानले आफ्नो सर्तमा मात्र कूटनीतिक प्रक्रिया अघि बढाउने बताउँदै अमेरिकाले युद्ध र वार्ताको समय आफैँ निर्धारण गर्न नसक्ने धारणा व्यक्त गरेका छन् ।
राज्य सञ्चालित टेलिभिजनसँगको अन्तर्वार्तामा उनले ओमानको मध्यस्थतामा चरणबद्ध छलफल जारी रहे पनि अमेरिकासँग प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको स्पष्ट पारे । उनका अनुसार अमेरिकाले चाहेको बेला सैन्य कारबाही गर्ने र चाहेको बेला वार्तामा बस्ने अभ्यासलाई इरानले स्वीकार गर्ने छैन । बरु द्वन्द्व अन्त्यका लागि पहल अमेरिकाकै तर्फबाट भएको र वासिङ्टनले नै विभिन्न सन्देश पठाएको उनको दाबी थियो ।
उनको यो प्रतिक्रिया राष्ट्रपति ट्रम्पले हालै इरानले सैन्य कारबाही रोक्न आग्रह गर्दै वार्ताको प्रस्ताव गरेको दाबी गरेपछि आएको हो । ट्रम्पले नयाँ युद्धविराम सम्झौता हुन नसके सैन्य आक्रमण पुनः सुरु हुन सक्ने चेतावनी पनि दिएका थिए । घरिबाबादीले हर्मुज जलघाँटीसम्बन्धी इरानको अडान पनि दोहोर्याउँदै वैकल्पिक दक्षिणी समुद्री मार्गलाई मान्यता नदिने र जलमार्गमा गरिने सबै सुरक्षासम्बन्धी तथा खानी हटाउने गतिविधि तेहरानको नियन्त्रणमै रहने बताए।
उनले हर्मुज क्षेत्रमा कुनै पनि विदेशी सैन्य हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै त्यहाँ प्रवेश गर्ने युरोपेली नौसैनिक जहाज इरानका लागि वैध सैन्य लक्ष्य बन्न सक्ने टिप्पणी गरे ।
केही युरोपेली मुलुकले संयुक्त राज्य अमेरिकासँग मिलेर हर्मुज जलघाँटी पुनः सञ्चालनमा ल्याउने सम्भावनाबारे सार्वजनिक भएका समाचारका बीच उनको यस्तो अभिव्यक्ति आएको हो । इरानले हर्मुज जलघाँटीलाई युद्धअघिको अवस्थामा फर्काउन नदिने नीति लिएको उल्लेख गर्दै घरिबाबादीले उक्त क्षेत्रको नियन्त्रणले आफ्नो मुलुकको प्रतिरक्षा क्षमता थप सुदृढ भएको दाबी गरे ।
उनका अनुसार हर्मुजमाथिको नियन्त्रण राष्ट्रिय सुरक्षाको अभिन्न अङ्ग भएकाले कुनै पनि अवस्थामा त्यसबाट पछि हटिने छैन । यसैबीच, अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले मध्यपूर्वका समुद्री व्यापार मार्गको सुरक्षाका लागि आफ्ना सैन्य गतिविधि जारी रहेको जनाएको छ । सेन्टकमका अनुसार हाल मध्यपूर्व क्षेत्रमा २० भन्दा बढी अमेरिकी नौसैनिक युद्धपोत परिचालन गरिएका छन् ।
ती युद्धपोतले इरानविरुद्ध लागू गरिएको ‘स्टिल वाल’ नाकाबन्दी कार्यान्वयनका साथै समुद्री सुरक्षा अभियानलाई सहयोग गरिरहेका छन् । सेन्टकमले सामाजिक सञ्जाल एक्समार्फत जुलाई २८ सम्म १८ वटा व्यावसायिक जहाजलाई मार्ग परिवर्तन गराइएको, दुई जहाजलाई रोकिएको र थप दुई जहाजमा चढेर निरीक्षण गरिएको जनाएको छ । अमेरिकी पक्षले यी सबै कदम समुद्री मार्गमा पूर्ण अनुपालन सुनिश्चित गर्न चालिएको दाबी गरेको छ ।