काठमाडौँ। चीनको पूर्वी आन्हुई प्रान्तकी ७१ वर्षीया एक महिलाले डुब्न लागेका एक युवकको ज्यान बचाएर साहसको अनुपम उदाहरण प्रस्तुत गरेकी छन्। जोखिम मोलेर गरिएको उनको उद्धार कार्यको अहिले व्यापक प्रशंसा भइरहेको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार यस महिनाको सुरुवातमा अवकाशप्राप्त लिउ डेफाङ नदी किनारमा हिँडिरहेकी थिइन्। सोही क्रममा उनले एक युवक नदीमा डुब्न संघर्ष गरिरहेको देखिन्। मौसमी बाढीका कारण नदीमा करिब तीनदेखि चार मिटर गहिराइसम्म पानी भरिएको थियो। युवकको अवस्था देख्नेबित्तिकै लिउले कुनै ढिलाइ नगरी लाइफबोय लिएर नदीमा हाम फालिन्। उनले करिब आधा घण्टासम्म अथक प्रयास गर्दै युवकलाई किनारतर्फ ल्याइन्। त्यसपछि घटनास्थलमा रहेका अन्य व्यक्तिको सहयोगमा युवकलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भइन्। प्रारम्भिक जानकारीअनुसार उद्धार गरिएका युवकले आत्महत्याको प्रयास गरेका थिए। लिउले आफ्नो ज्यानको समेत पर्वाह नगरी उनको जीवन जोगाउन सफल भएकी हुन्। उद्धारपछि युवक सुरक्षित रहेको सुनिश्चित गरेपछि लिउ कुनै सम्मान वा प्रचारको अपेक्षा नगरी भिजेकै लुगामा चुपचाप घर फर्किएकी थिइन्। उनले आफूले गरेको कामलाई सामान्य मान्दै त्यसबारे विशेष चर्चा गर्न चाहिनन्। घटनाका प्रत्यक्षदर्शीहरूले भने उनको साहसको खुलेर प्रशंसा गरेका छन्।
प्रत्यक्षदर्शी वाङ हुइहुआले घटनाको भिडियो खिचेर प्रहरीलाई उपलब्ध गराएको बताउँदै आफूलाई पौडी खेल्न नआउने र पानीमा जान डर लाग्ने भएकाले लिउको साहस अत्यन्त प्रेरणादायी लागेको प्रतिक्रिया दिएका छन्। घटनाको भोलिपल्ट प्रहरीले लिउको पहिचान गरी उनको घरमै पुगेर धन्यवाद ज्ञापन गरेको थियो। त्यसपछि घटनास्थल पुगेकी लिउले आफूले त्यसबेला आफ्नो सुरक्षाभन्दा पनि डुबिरहेका व्यक्तिको ज्यान जोगाउने सोच मात्रै राखेको बताइन्। उनले भनिन्, “नदीमा एक जना डुबिरहेको देखेपछि मैले दोस्रो पटक सोच्ने समय नै पाइनँ। त्यतिबेला प्रत्येक सेकेन्ड महत्त्वपूर्ण थियो। जति छिटो उद्धार गर्न सकियो, बाँच्ने सम्भावना त्यति नै बढ्छ भन्ने लाग्यो। त्यसैले मैले आफ्नै सुरक्षाको भन्दा उनको जीवन बचाउने कुरा मात्रै सोचें।” ७१ वर्षको उमेरमा पनि देखाएको साहस, मानवता र निस्वार्थ सेवाभावका कारण लिउ डेफाङको अहिले चीनभर व्यापक प्रशंसा भइरहेको छ।