काठमाडौँ । न्युयोर्कका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सम्भावित न्युयोर्क भ्रमण र त्यससँग जोडिएको पक्राउ सम्बन्धी विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन्।
सञ्चारकर्मीसँग कुरा गर्दै ममदानीले नेतन्याहूले लगाएका आरोप वा दिएका प्रतिक्रियाबारे आफूलाई कुनै चासो नरहेको बताए। उनले यस विषयमा अनावश्यक टिप्पणी गर्न नचाहेको पनि स्पष्ट पारे। अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) सम्बन्धी आफ्नो अघिल्लो अभिव्यक्तिबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुनै छलफल भएको हो वा होइन भन्ने प्रश्नमा ममदानीले राष्ट्रपतिसँग भएका निजी संवाद सार्वजनिक नगर्ने बताए।
उनले आफ्नो मुख्य जिम्मेवारी न्युयोर्कका सबै नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नु रहेको उल्लेख गरे। यसअघि इजरायली प्रधानमन्त्री नेतन्याहूले सेप्टेम्बरको अन्त्यतिर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने योजना सार्वजनिक गरेका थिए। त्यसपछि उनले ममदानीमाथि आफूविरुद्ध घृणा फैलाएको आरोप लगाएका थिए। यसअघि ममदानीले नेतन्याहू न्युयोर्क आएमा पक्राउ गरिने बताएका थिए। तर, पछि उनले आफ्नो भनाइ सच्याउँदै अन्तर्राष्ट्रिय अपराध अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा नेतन्याहूलाई पक्राउ गराउने अधिकार आफू वा न्युयोर्क नगर प्रशासनसँग नभएको स्वीकार गरेका छन्।