काठमाडौं ।भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा करीब दुई घण्टा लामो वार्ता सम्पन्न भएको छ।
बैठकमा ककरोच पार्टीका तर्फबाट प्रवक्ता सौरभ दास र आशुतोष राङ्का सहभागी थिए भने सरकारको प्रतिनिधित्व केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले गरेका थिए । छलफलका क्रममा ककरोच पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि सारेका छन् ।
जसमा प्रश्नपत्र लिकका कारण आत्महत्या गरेका विद्यार्थीका परिवारलाई १-१ करोड रुपैयाँ क्षतिपूर्ति, आन्दोलनका क्रममा दर्ता भएका उजुरी दर्ता फिर्ता र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा सामेल छन् ।
वार्ता पछि मन्त्री जेपी नड्डाले आन्दोलनकारीका मागहरूबारे भोलि दिउँसो पुनः बैठक बसेर छलफल गरिने जानकारी दिएका छन्। यसैबीच ककरोच पार्टीका प्रवक्ता सौरभ दासले दिल्ली प्रहरीले प्रदर्शनकारीलाई बिनाकारण धरपकड गरिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
जवाफमा मन्त्री नड्डाले त्यस्तो कार्य नभएको तर यदि भइरहेको भए पुलिसलाई रोक्न निर्देशन दिने आश्वासन दिएका छन् । शिक्षा मन्त्रीको राजीनामालाई गैर-सम्झौताहीन अडान बनाएको ककरोच पार्टीले जुनको अन्तिम सातादेखि जन्तर-मन्तरमा निरन्तर प्रदर्शन गर्दै आएको छ।