वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासँगको परमाणु सहकार्य सम्झौता इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने ‘इब्राहिम एकोर्ड्स’ मा जोडिने विषयमा मात्रै निर्भर रहने बताएका छन्।
दुवै देशबीच परमाणु सम्झौता भएको घोषणा भएको भोलिपल्ट ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो। यसले पहिले नै अस्पष्ट रहेको र पूर्ण विवरण सार्वजनिक भइनसकेको सम्झौताप्रति थप अन्योल सिर्जना गरिदिएको छ ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा ट्रम्पले लेखेका छन्, “यो सम्झौता स्वीकृत त हुनेछ, तर यो पूर्ण रूपमा साउदी अरेबिया अत्यन्तै सम्मानित र सफल ‘इब्राहिम एकोर्ड्स’ मा सहभागी हुने कुरामा निर्भर छ।”
ट्रम्पको यो दाबीबारे साउदी अरेबियाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन। लामो समयदेखि इजरायलसँगको सम्बन्ध सामान्यीकरणको विपक्षमा रहँदै आएको रियादका लागि यो सम्झौता स्वीकार गर्नु ठूलो कूटनीतिक बदलाव हुनेछ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लिभिटले पत्रकारसँग कुरा गर्दै सो पोस्ट गरेयता ट्रम्प र साउदी युवराज मोहम्मद बिन सलमानबीच कुराकानी नभएको तर अघिल्ला वार्ताहरूमा ट्रम्पले यो विषय उठाएको बताइन्। यदि साउदी अरेबिया ‘इब्राहिम एकोर्ड्स’ मा सहभागी भएन भने यो सम्झौता रद्द हुने अडान उनले दोहोर्याइन्।
यसअघि बुधबार अमेरिकी ऊर्जा मन्त्रालयले वासिङ्टन र रियादबीच दशकौंसम्म चल्ने अर्बौं डलरको “शान्तिपूर्ण परमाणु सहकार्य सम्झौता” र नागरिक परमाणु कार्यक्रम सुरु गर्नेसम्बन्धी “द्विपक्षीय सुरक्षा सम्झौता” मा हस्ताक्षर भएको घोषणा गरेको थियो। यो सम्झौता लागू हुन अमेरिकी संसद् बाट स्वीकृत हुनुपर्छ।
कतिपय अमेरिकी सञ्चारमाध्यमका अनुसार यो सम्झौताले साउदी अरेबियालाई परमाणु इन्धन आयात गर्नुको सट्टा देशभित्रै युरेनियम प्रशोधन गर्ने अनुमति दिनेछ।