काठमाडौँ । व्यापक जनप्रदर्शन र राजनीतिक दबाबपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सेनाध्यक्ष ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट बर्खास्त गरेका छन्।
राष्ट्रपति जेलेन्स्कीले मंगलबार टेलिग्राममार्फत एक सन्देश जारी गर्दै सिर्स्कीको ठाउँमा मिखाइलो द्रापातीलाई युक्रेनी सशस्त्र बलको नयाँ सेनाध्यक्ष नियुक्त गरेको घोषणा गरेका हुन्।
‘मैले युक्रेनी सशस्त्र बलको नयाँ कमान्डर-इन-चिफमा मिखाइलो द्रापातीलाई नियुक्त गर्ने निर्णय गरेको छु। म ओलेक्सान्द्र सिर्स्की र हाम्रा प्रत्येक योद्धालाई फ्रन्टलाइनमा युक्रेनको बलियो उपस्थितिका लागि धन्यवाद दिन्छु,’ जेलेन्स्कीले भनेका छन्, ‘हाम्रो एउटै साझा चाहना हो- शत्रुमाथि विजय हासिल गर्नु र युद्धभूमिमा रसियामाथि यस्तो दबाब सिर्जना गर्नु, जसले उसलाई शान्तिका लागि बाध्य पारोस्। रक्षात्मक यात्रामा ठूलो बाटो तय भइसकेको छ र प्रत्येक योद्धा सम्मानित व्यवहारको हकदार छ।’
गत साता राष्ट्रपति जेलेन्स्कीले रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई बर्खास्त गरेपछि सरकारको चौतर्फी आलोचना भइरहेको थियो। ३५ वर्षीय पूर्वपुस्ताका सुधारवादी नेता फेदोरोभले पदबाट हटाइएलगत्तै सेनाध्यक्ष सिर्स्कीसँगको आफ्नो मतभेद सार्वजनिक गरेका थिए। रुसी आक्रमणविरुद्ध भइरहेको युद्धलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमा उनीहरूबीच मुख्य विवाद रहेको थियो।
फेदोरोभले सेनाध्यक्ष सिर्स्कीमाथि युक्रेनी सेनाको आधुनिकीकरण र सुधारका प्रयासलाई रोकेको गम्भीर आरोप लगाएका थिए।