नयाँ दिल्ली । भारतमा परीक्षा प्रणाली सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उत्रिएको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनले सरकार माग पूरा नभएसम्म आन्दोलन नरोकिने घोषणा गरेको छ ।
नयाँ दिल्लीमा सोमबार भएको विशाल प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा १७८ जना घाइते भएपछि आन्दोलन थप चर्किएको हो । सीजेपीले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई निरन्तर अघि बढाइने जनाएको छ ।
आन्दोलनका प्रमुख आशुतोष रङ्काले शिक्षामन्त्री प्रधानलाई पदबाट हटाउनुपर्ने माग दोहोर्याउँदै सरकार मौन बसेसम्म आन्दोलन जारी रहने बताए । मङ्गलबार पनि सयौँ प्रदर्शनकारी राजधानीको जन्तर–मन्तर क्षेत्रमा धर्नामा बसेका छन् ।
उनीहरूले शिक्षामन्त्रीको राजीनामासँगै परीक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने माग राखिरहेका छन् । सोमबार हजारौँ प्रदर्शनकारी संसद्तर्फ मार्च गर्न खोजेपछि प्रहरीले उनीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । दिल्ली प्रहरीले प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा कम्तीमा १७८ जना घाइते भएको जनाएको छ ।
तीमध्ये वरिष्ठ अधिकारीहरूसहित ११८ जना प्रहरी कर्मचारी पनि छन् । प्रहरीले प्रदर्शनकारीको भीडलाई ‘अनियन्त्रित, आक्रामक र हिंसात्मक’ भएको आरोप लगाएको छ । साथै झडपका क्रममा करिब ६० जना प्रदर्शनकारी पनि घाइते भएको जनाएको छ । यद्यपि आन्दोलनका आयोजकहरूले प्रहरीको बल प्रयोगको कडा आलोचना गरेका छन् ।
आशुतोष रङ्काले वास्तविक मुद्दा उठाउन आएका विद्यार्थीमाथि प्रहरीले क्रूरतापूर्वक दमन गरेको आरोप लगाउँदै यसलाई भारतीय लोकतन्त्रका लागि लज्जास्पद घटनाको संज्ञा दिएका छन्।