काठमाडौं । एन्डी बर्नहम बेलायतका नयाँ प्रधानमन्त्री बनेका छन्। बकिंघम प्यालेसमा भएको औपचारिक भेटवार्ताका क्रममा राजा चार्ल्स तृतीयले उनलाई नयाँ सरकार गठन गर्न आमन्त्रण गरेसँगै उनी प्रधानमन्त्री नियुक्त भएका हुन्।
बकिंघम प्यालेसले जारी गरेको विज्ञप्तिमा राजा चार्ल्सले सांसद एन्डी बर्नहमलाई नयाँ प्रशासन गठन गर्न अनुरोध गरेको र उनले उक्त प्रस्ताव स्वीकार गरेको उल्लेख गरिएको छ। त्यसपछि उनले प्रधानमन्त्री तथा फर्स्ट लर्ड अफ द ट्रेजरीको जिम्मेवारी सम्हालेका हुन्।
निवर्तमान प्रधानमन्त्री किएर स्टारमरले राजदरबार पुगेर औपचारिक राजीनामा बुझाएपछि बर्नहम बकिंघम प्यालेस पुगेका थिए। त्यसपछि उनले प्रधानमन्त्रीको जिम्मेवारी ग्रहण गरेका हुन्।
पदभार ग्रहण गर्नुअघि केही स्वाभाविक दबाब महसुस भएको भए पनि आफू यो जिम्मेवारीका लागि तयार रहेको बर्नहमले बताएका छन्। अब उनले नयाँ मन्त्रिपरिषद् गठन तथा मन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउनेछन्।