काठमाडौँ । जोर्डनमा इरानी आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिका र इरानबीच पुनः आक्रमण–प्रत्याक्रमण तीव्र बनेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार शनिबार राति इरानका तटीय निगरानी तथा हवाई प्रतिरक्षा संरचनामाथि हवाई आक्रमण गरिएको छ। सेन्टकमले इरानको सैनिक क्षमता कमजोर पार्ने उद्देश्यले आक्रमण गरिएको जनाएको छ। इरानी सरकारी सञ्चारमाध्यमले भने होर्मुज जलडमरूमध्यस्थित केश्म टापुमा अमेरिकी आक्रमण भएको पुष्टि गरेका छन्। सेन्टकमका अनुसार शुक्रबार जोर्डनमा भएको आक्रमणमा दुई अमेरिकी सैनिक मारिएका थिए भने एक सैनिक अझै बेपत्ता छन्। उक्त आक्रमणका लागि जिम्मेवार ठानिएको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का संरचनालाई पनि लक्षित गरी आक्रमण गरिएको अमेरिकी पक्षको दाबी छ।
यसको जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य अड्डा ‘क्याम्प उदैरी’ र ‘अली अल सालेम एयर बेस’मा ड्रोन आक्रमण गरेको जनाएको छ। आईआरजीसीसँग सम्बद्ध तस्निम समाचार एजेन्सीका अनुसार ती आक्रमण ‘कामिकाजे ड्रोन’ प्रयोग गरेर गरिएको हो। अमेरिका र इरानबीच पछिल्ला केही दिनयता लगातार आक्रमण भइरहेका छन्। दुवै पक्षले एकअर्कामाथि रणनीतिक तथा पूर्वाधार संरचनालाई लक्षित गरी आक्रमण गरेको आरोप लगाएका छन्। सेन्टकमका अनुसार पछिल्ला आठ रातदेखि जारी अमेरिकी आक्रमणको उद्देश्य होर्मुज जलडमरूमध्यमा व्यापारिक जहाजलाई खतरा पुर्याउने इरानी क्षमतालाई कमजोर बनाउनु हो। साथै, जोर्डनमा अमेरिकी सैनिकमाथि भएको आक्रमणको प्रतिकारस्वरूप आईआरजीसीमाथि कारबाही गरिएको पनि अमेरिकी पक्षले जनाएको छ।
यसअघि अमेरिका र इरानबीच जुन महिनामा युद्ध रोक्ने प्रारम्भिक सहमति भएको थियो। तर केही सातामै उक्त सहमति भंग भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ८ मा सम्झौता समाप्त भएको घोषणा गरेका थिए। अमेरिकी रक्षा मन्त्रालयका अनुसार जोर्डनमा भएको पछिल्लो घटनासँगै युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १६ पुगेको छ। यसअघि बेपत्ता रहेका अमेरिकी नौसेनाका एक पाइलटलाई पनि मृत घोषणा गरिएको थियो। यता, इरानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला तीन सातामा अमेरिकी आक्रमणबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी घाइते भएका छन्।
कुवेतले इरानी आक्रमणबाट विद्युत् उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रमा क्षति पुगेको जनाएको छ। त्यसपछि खाडी सहयोग परिषद् ९जीसीसी० ले इरानमाथि नागरिक पूर्वाधारलाई निशाना बनाएको आरोप लगाएको छ। अमेरिका भने आफ्ना आक्रमण सैन्य संरचनामा मात्र केन्द्रित रहेको दाबी गर्दै आएको छ। अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार नागरिक तथा नागरिक संरचनामाथि आक्रमण गर्न पाइँदैन। तर कुनै नागरिक संरचना सैन्य प्रयोजनमा प्रयोग भएको पुष्टि भएमा त्यसले विशेष परिस्थितिमा आफ्नो कानुनी संरक्षण गुमाउन सक्छ। शनिबार राति इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले विज्ञप्ति जारी गर्दै अमेरिकाले पटक–पटक युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाए। उनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षर विश्वसनीय नरहेको र त्यसमा भरोसा गर्न नसकिने टिप्पणी गरेका छन्।