काठमाडौँ । मनसुनजन्य तथा अन्य विपद्को समयमा नागरिकको तत्काल खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन सरकार र निजी क्षेत्रबिच एक महत्त्वपूर्ण र परोपकारी सम्झौता भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र मुलुकका तीन ठुला निजी व्यावसायिक संस्थाहरूबिच विपद्का बेला हेलिकप्टर, ड्रोन र राफ्टिङ बोट (डुङ्गा) सेवा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।
मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच वायुसेवा सञ्चालक सङ्घ, नेपाल, नेपाल ड्रोन सङ्घ र नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज् (नारा) सँग छुट्टाछुट्टै तर एकीकृत रूपमा सम्झौता गरिएको हो।
आज प्राधिकरणमा आयोजित एक कार्यक्रममा यी तीन वटा संस्था र प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । वायुसेवा संचालक संघ, नेपालसँगको समझदारी अनुसार काठमाडौं उपत्यकाभित्र उडान गर्नु परेमा निशुल्क उपलब्ध गराउने र उपत्यका बाहिर उडान गर्नु परेमा न्यूनतम सञ्चालन खर्चमा सेवा दिने समझदारी भएको छ ।
यसैगरी नेपाल ड्रोन संघसँगको समझदारी अनुसार विपद्को समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निःशुल्क रुपमा ड्रोन र तत् सम्बन्धी उपकरण (पाईलटसहित) उपलब्ध गराउनु पर्नेछ । सो कार्यमा खटिने सदस्यहरुको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने उल्लेख छ । यसैगरी नेपाल एसोसीएसन अफ राफ्टिङ्ग एजेन्सिज् (नारा) सँगको समझदारी अनुसार विपद्को समयमा राफ्टको प्रयोग गर्न प्राधिकरणले आवश्यक देखी माग गरेमा नाराले निःशुल्क रुपमा राफ्ट र तत् सम्बन्धी उपकरण (जनशक्तिसहित) उपलब्ध गराउनु पर्ने उल्लेख छ । राफ्ट र जनशक्ति बाढी, डुबान तथा नदीजन्य विपद्मा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीलगायतका काममा प्रयोग गरिने समझदारी छ । यो समझदारी एक वर्षसम्म कायम रहने र आपसी समझदारीमा पुनः नवीकरण गर्न सकिने समेत समझदारी पत्रमा उल्लेख गरिएको छ ।