काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका गाडीसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने पार्टीको स्पष्ट धारणा रहेको बताएका छन्।
मंगलबार सिंहदरबारस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस विषयमा रास्वपाले यसअघि नै विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गरे। घटनामा जो–कोही संलग्न भए पनि कानुनी कारबाहीको दायरामा आउनुपर्ने उनको भनाइ थियो। लामिछानेले रास्वपाका कुनै नेता वा कार्यकर्ताको संलग्नता पुष्टि भए उनीहरूलाई पनि कानुनअनुसार कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको बताए। यसैबीच, प्रधानमन्त्रीसँग भएको भेटवार्ताबारे जानकारी दिँदै उनले राष्ट्रिय राजनीति, समसामयिक परिस्थितिलगायत आगामी कार्यदिशाका विषयमा सकारात्मक र परिणाममुखी छलफल भएको बताए। उनका अनुसार भेटमा सुकुम्बासी समस्या समाधानका लागि सरकारले अघि बढाएको पहललाई थप प्रभावकारी बनाउने विषयमा पनि प्रधानमन्त्रीलाई आवश्यक सुझाव दिइएको थियो।