काठमाडौँ । नेकपा एमालेका सांसद ऐनबहादुर महरले बझाङमा भएको जीप दुर्घटनामा घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गत असार २७ गते बझाङको बुङ्गल नगरपालिकाबाट केदारस्युँ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जीप दुर्गाथली गाउँपालिका–६ स्थित सुङुरेमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको ज्यान गएको जानकारी दिए। उनका अनुसार दुर्घटनामा दुर्गाथली गाउँपालिका–६ का चक्रबहादुर महत, कुटुरीदेवी महत तथा केदारस्युँ गाउँपालिका–७ की इमला महत धामीको घटनास्थलमै मृत्यु भएको थियो।
सांसद महरले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरे। साथै, करिब १२ जना घाइते भएको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। दुर्गम भौगोलिक अवस्थाका कारण सडकमार्फत उद्धार गर्न कठिनाइ हुने भएकाले सरकारले हेलिकप्टर परिचालन गरी घाइतेहरूको उद्धार गरेको उल्लेख गर्दै उनले त्यसका लागि नेपाल सरकार, गृह मन्त्रालय तथा भौतिक पूर्वाधार मन्त्रालयप्रति आभार व्यक्त गरे। हाल केही घाइतेको काठमाडौंस्थित ट्रमा सेन्टर र अन्यको नेपालगञ्जमा उपचार भइरहेको जानकारी दिँदै सांसद महरले उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने व्यवस्था मिलाउन माग गरे।