काठमाडौँ । असार २८ गते रातिदेखि परेको अविरल वर्षाका कारण मकवानपुर जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव उच्च भएपछि सडक यातायात ठप्प प्रायः बनेको छ। बाढी–पहिरोले विभिन्न सडकखण्डहरू अवरुद्ध भई उच्च जोखिमको अवस्था सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले यातायात सञ्चालनमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालयले सोमबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न र सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्ड र हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकखण्ड सवारी साधन सञ्चालन नगर्न र सबैलाई सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीद्वारा हस्ताक्षरित सूचना अनुसार जोखिमपूर्ण सडकखण्डहरूमा सवारी साधन रोक्ने स्थान र समय तालिका तोकेको छ । जसमा हेटौँडा–ठिंगन–बागमती–ललितपुर सडकखण्डमा चल्ने सवारी चौघडामा सोमबार साझे ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि रोक्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालय हेटौँडाले हेटौँडा–भैँसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडकखण्डमा सञ्चालन हुने सवारीलाई चौकीटोल, हेटौँडामा सोमबार साझ ५ बजेदेखि मंगलबार विहान ५ बजेसम्म रोक्ने निर्णय गरेको प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सम्भावित जोखिमबाट बच्नका लागि सम्बन्धित सबै निकाय, यातायात व्यवसायी, चालक तथा आम सर्वसाधारणलाई यो निर्णय पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। साथै, वर्षातको समयमा यात्रा गर्दा मौसम तथा सडक अवस्था सम्बन्धी आधिकारिक सूचनाहरूको निरन्तर जानकारी लिन र सचेत रहन समेत अनुरोध गरिएको छ।
