बैंकक । थाइल्याण्डको राजधानी बैंककस्थित एउटा बारमा आइतबार अबेर राति भीषण आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। यस दुर्घटनामा अन्य २२ जनाको अवस्था अत्यन्तै चिन्ताजनक रहेको छ।
बैंककको प्रसिद्ध चतुचक जिल्लास्थित ‘रोङ बियर ना लात फ्राओ’ नामक बारको स्टेज नजिकैबाट आगो सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। आगो द्रुत गतिमा फैलिएपछि अचानक बिजुली काटिएको र पूरै कोठा बाक्लो धुवाँले भरिँदा मानिसहरू निसास्सिएका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा ग्राहकहरू आत्तिएर चिच्याउँदै बाहिर निस्कन खोजिरहेको र मुख्य ढोकाबाट निस्कँदै गरेका केही व्यक्तिको लुगामा आगो लागिरहेको विभत्स दृश्य देखिन्छ।
सोमबार बिहान घटनास्थल पुग्नुभएका थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले त्यहाँ कार्यरत एक संगीतकर्मीलाई उद्धृत गर्दै सुरुमा ठूलो विस्फोटको आवाज आएको र सबैजना धुवाँ र ज्वालाबाट बच्न भाग्न थालेको जानकारी दिनुभयो। प्रधानमन्त्रीका अनुसार आगो लागेपछि धेरै मानिस ज्यान जोगाउन भवनको पछाडि रहेको शौचालयमा लुक्न छिरेका थिए। तर, बाहिर निस्कने वैकल्पिक बाटो नहुँदा उनीहरू भित्रै फँसे र अधिकांशको शव शौचालयभित्रै फेला परेको छ।
दमकलकर्मीहरूले करिब आधा घण्टाको प्रयासमा आगोलाई नियन्त्रणमा लिएका थिए। अधिकारीहरूका अनुसार ज्यान गुमाउने २७ जनामा ९ पुरुष र १८ महिला रहेका छन्। अस्पतालमा ६० भन्दा बढी घाइतेहरूको उपचार भइरहेको छ, जसमध्ये २२ जनाको अवस्था गम्भीर छ। धेरैजसोको मृत्यु धुवाँले निसास्सिएर भएको प्रारम्भिक रिपोर्टले देखाएको छ।
बैंककको विपद् व्यवस्थापन विभागको प्रारम्भिक अनुसन्धानले एयर कन्डिसनरमा भएको ‘विद्युतीय सर्ट सर्किट’का कारण आगलागी भएको हुन सक्ने संकेत गरेको छ। बैंककका गभर्नर चाचार्ट सिटिपन्टले बारको छतमा प्रयोग गरिएका प्रज्वलनशील सजावटका सामग्रीले आगो छिटो फैलिन मद्दत गरेको हुन सक्ने र आपतकालीन निकास (इमर्जेन्सी एक्जिट) को ढोकामा केही अवरोध रहेका कारण मानिसहरू समयमै बाहिर निस्कन नसकेको आशङ्का व्यक्त गरेका छन् ।
थाइल्याण्डमा विगतका यस्ता घटनाहरूपछि अग्नि सुरक्षा र विद्युतीय मापदण्डमा सुधार गर्ने सरकारी आश्वासनका बाबजुद नियमहरू प्रभावकारी रूपमा लागू नहुँदा पुनः यस्तो दुर्घटना दोहोरिएको भन्दै आलोचना सुरु भएको छ।
सोमबार बिहान बार क्षेत्रलाई पूर्ण रूपमा सिल गरिएको छ। चतुचक जिल्ला कार्यालयले उक्त भवनलाई ३० दिनका लागि बन्द गर्ने घोषणा गरेको छ। थाइ अधिकारीहरूले मृतकका परिवारलाई प्रतिपरिवार २९,३०० थाई भाट (करिब ८८० डलर) र घाइतेहरूलाई ४,००० थाई भाट तत्काल राहत दिने घोषणा गरेका छन्।