काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी भई फेला परेका ५१ वटा दुई पाङ्ग्रे सवारी साधनहरूसम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
सोमबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बिच कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश प्रसाद काफ्लेले सवारी धनीहरूलाई गाडीको साँचो हस्तान्तरण गरेका हुन ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो एक महिनाको अवधिमा उपत्यकाका विभिन्न ठाउँबाट हराएका वा चोरी भएका सवारी साधनहरू खोजतलास गर्ने क्रममा यी साधनहरू फेला परेका हुन्। हस्तान्तरण गरिएका ५१ वटा सवारी साधनहरूमध्ये ३५ वटा मोटरसाइकल र १६ वटा स्कुटर रहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेश राज सुवेदीले धेरैजसो मोटरसाइकल तथा स्कुटरहरू पार्किङ गरिराखेको अवस्थामा नै हराउने वा चोरी हुने गरेको पाइएको जानकारी दिएका छन् ।
प्रवक्ता सुवेदीले सवारी धनीहरूलाई सचेत गराउँदै भने, “यदि लामो समयसम्म सवारी साधन पार्किङ गरेर छोड्नुपर्ने अवस्था आएमा सुरक्षित स्थानमा मात्र राख्न र आवश्यक परे नजिकैको प्रहरी वा ट्राफिक प्रहरी कार्यालयमा पूर्व जानकारी गराउन सुझाव दिन्छौँ।”
ट्राफिक प्रहरीले सवारी साधन चोरी हुनबाट जोगाउनका लागि परम्परागत विधिको भर मात्र नपरी आधुनिक प्रविधिको प्रयोग गर्न सवारी धनीहरूलाई विशेष आग्रह गरेको छ। सवारी साधनमा सुरक्षाका उपायहरू बलियो बनाउनका लागि सवारी धनिले आफ्ना सवारी धनिलाई एन्टि–लक सिस्टम, अलार्म सिस्टम, जीपीएस ट्र्याकर राख्न सुझाब दिएका छन् ।
यस्ता प्रविधिहरूको प्रयोगले सवारी साधन सुरक्षित हुनुका साथै चोरी भइहालेको खण्डमा पनि तत्काल लोकेसन पत्ता लगाई फेला पार्न सहज हुने ट्राफिक प्रहरीको भनाइ छ।