काठमाडौँ । आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको परिवार न्यायका लागि कानुनी ढोका ढकढक्याउन प्रहरीकहाँ पुगेका छन्। मृतक नेपालीको परिवार काठमाडौँ महानगरपालिका र सो कार्यमा खटिएका नगर प्रहरीलाई प्रतिवादी बनाएर ज्यानसम्बन्धी कसुरमा जाहेरी दिन सोमबार बिहानै प्रहरी वृत्त कालिमाटी पुगेका हुन्।
प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशकुमार सिंहका अनुसार कुन मुद्दा अन्तर्गत कसलाई प्रतिवादी बनाएर कानुनी कारबाही अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न नेपालीको परिवार सोमबार बिहानै कालिमाटी वृत्तमा पुगेका थिए। कानुनी व्यवसायीहरूको आवश्यक सल्लाह र परामर्शबमोजिम ज्यानसम्बन्धी कसुर (आत्महत्या दुरुत्साहन वा सम्बद्ध कसुर) मा जाहेरी दर्ता गराउन उनीहरू हाल लेखापढी व्यवसायीकहाँ पुगेर जाहेरी लेखाइरहेका छन्।
ब
डीएसपी सिंहले भने, “हामीकहाँ आधिकारिक रूपमा जाहेरी आइसकेको छैन, उहाँहरू जाहेरी लेखाउन जानुभएको छ। जाहेरी प्राप्त भएपछि मात्रै त्यसको कानुनी प्रक्रिया, दर्ता हुने÷नहुने विषय तथा प्रतिवादी कसलाई कुन आधारमा बनाइएको छ भन्नेबारे स्पष्ट जानकारी आउनेछ।”
गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको ३ नम्बर गेट अगाडि मुगुका गणेश नेपालीले आफ्नो मोटरसाइकल पार्किङ गरेका थिए। सोही क्रममा काठमाडौँ महानगरपालिकाको सवारी व्यवस्थापन टोलीबाट खटिएका नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्वील लक’ लगाइदिएका थिए।
त्यसपछि नगर प्रहरी र गणेश नेपालीबीच केही समय भनाभन र विवाद भएको थियो। विवादकै क्रममा आक्रोशित बनेका नेपालीले आफ्नो मोटरसाइकलको ट्याङ्कीबाट पेट्रोल निकालेर आफ्नै शरीरमा खन्याई आगो लगाएका थिए। गम्भीर रूपमा जलेका उनको उपचारका क्रममा निधन भएपछि महानगरको कार्यशैली र व्यवहारलाई लिएर सर्वसाधारण र पीडित परिवारले आक्रोश व्यक्त गर्दै आएका छन्।