विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनाहरूमा भत्काइएको छ।
अस्पतालको जग्गा मिचेर बनाइएका ३२ वटा व्यावसायिक सटरहरू तीन वटा डोजर प्रयोग गरी सोमबार बिहान एक घण्टाभित्रै भत्काइएको हो । सोमबार बिहान ६ बजेदेखि टहरा भत्काउन शुरू गरिएको थियो ।
हस्पिटल चोकस्थित गणेश मन्दिरले भाडामा लगाएका आधा दर्जन बढी सटरसहित नेपाल क्षयरोग निवारण संस्था, नेपाल रेडक्रस सोसाइटी र देवकोटा पुस्तकालयका नाममा बनाइएका ३२ वटा सटरहरू भत्काइएको कोशी अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुइँटेलले जानकारी दिए ।
अस्पताल प्रशासनले सात दिनको अल्टिमेटम दिएर संरचना खाली गर्न अन्तिम चेतावनी दिएपछि व्यवसायीहरूले शनिबारदेखि नै सटर खाली गर्न शुरू गरेका थिए ।
सम्भावित अवरोधलाई मध्यनजर गर्दै घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । संरचना भत्काउने कार्यको प्रत्यक्ष अनुगमनका लागि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला र जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालसहितका सुरक्षा अधिकारीहरू उपस्थित थिए ।
विगत लामो समयदेखि अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएर औषधि पसल र क्लिनिकहरूलाई भाडामा दिएका थिए । ती सटरहरूको भाडाबापतको आम्दानी अस्पतालले नभई सम्बन्धित संस्थाहरूले नै उठाउँदै आएका थिए ।
अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि ती संरचनाहरू हटाउन लामो समयदेखि प्रयास गर्दै आएको थियो। भत्काइएको ठाउँलाई अब अस्पतालले तत्कालै पर्खाल (बाउन्डिङ) लगाएर व्यवस्थित गर्ने कोशी अस्पतालका मेसु डा.चन्द्रभाल झाले बताए ।
डोजर चलाएर व्यावसायिक सटरहरू भत्काइए पनि नेपाल क्षयरोग निवारण संस्था, ब्लड बैंक र गणेश मन्दिरको मूल संरचना भने तत्कालका लागि यथावत राखिएको अस्पताल प्रशासनले जनाएको छ ।