काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
विभागका अनुसार असार २९ गतेदेखि लागू गरिएको नयाँ प्रणालीमा करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ।विभागले यति ठूलो सूचना प्रविधि प्रणाली कार्यान्वयन गरी 'गो-लाइभ' गरेपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिलाइ देखिनु स्वाभाविक भएको जनाएको छ।
यस्ता समस्याको समाधानका लागि विभागका प्राविधिक टोली, कर्मचारी तथा प्रणाली विकास गर्ने कम्पनीका विशेषज्ञहरू चौबीसै घण्टा 'स्ट्यान्डबाइ' रही प्रणालीको निरन्तर अनुगमन, परीक्षण र सुधारमा खटिएको विभागले उल्लेख गरेको छ।विभागले तत्कालीन तथा दीर्घकालीन रूपमा देखिएका समस्याको समाधान गर्न आफू पूर्ण रूपमा सक्षम र प्रतिबद्ध रहेको विश्वास पनि व्यक्त गरेको छ।
नयाँ प्रणालीको सुरुवाती चरणमा राहदानी अत्यावश्यक भएका सेवाग्राहीहरूले मात्र आवेदन दिन विभागले आग्रह गरेको छ। यसबाट प्रणालीलाई थप स्थिर र प्रभावकारी बनाउन सहयोग पुग्ने विभागको भनाइ छ।
त्यसैगरी, राहदानी सेवासम्बन्धी सूचना प्राप्त गर्दा विभाग वा परराष्ट्र मन्त्रालयका आधिकारिक माध्यमबाट प्रकाशित सूचना तथा समाचारलाई मात्र आधार बनाउन पनि विभागले सेवाग्राहीसँग अनुरोध गरेको छ।
राहदानी विभागले नेपाली नागरिकलाई चुस्त, छरितो र विश्वसनीय सेवा प्रदान गर्न आफू सदैव प्रतिबद्ध रहेको जनाएको छ।