धनगढी । कञ्चनपुरमा जंगली बाघको aआक्रमणमा परेर एक महिला गम्भीर घाइते भएकी छन्। कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५ झिलमिला बस्ने ती महिलामाथि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्रमा बाघले आक्रमण गरेको हो।
प्रहरी र स्थानीयका अनुसार आइतबार बेलुका करिब ५ बजेको समयमा शुक्लाफाँटा जंगलमा घाँस काट्न गएकी धनादेवी उपाध्यायमाथि बाघले अचानक आक्रमण गरेको थियो। बाघले महिलामाथि झम्टिएलगत्तै वरपर रहेका स्थानीय बासिन्दाहरूले होहल्ला गर्दै उनको उद्धार गरिएको थियो । जंगल क्षेत्रबाट उद्धार गरिएलगत्तै उनलाई आकस्मिक उपचारका लागि कैलालीको धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो ।
माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताका अनुसार घाइते उपाध्यायको अस्पतालमा आवश्यक आकस्मिक परीक्षण तथा उपचार प्रक्रिया अगाडि बढाइएको छ। हाल उनलाई विशेषज्ञ चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा राखिएको र स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन (मोनिटरिङ) भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ।