सिरहा । सिरहामा एकै परिवारका तीन जना बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। आइतबार विहान गोलबजार नगरपालिका–७ स्थित स्थानीय पशु बजार नजिकै वर्षाको पानी जमेर बनेको अस्थायी पोखरीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय बासिन्दा अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया छोरी रुविना खातुन र १२ वर्षीया छोरी सवनम खातुन रहेका छन्। तीनै जना आफ्नै सहोदर दाजुभाइ र दिदीबहिनी हुन्।
स्थानीयका अनुसार वर्षायाम सुरु भएसँगै पशु बजार क्षेत्रमा रहेको गहिरो खाल्डोमा पानी भरिएर एउटा अस्थायी पोखरीको रूप लिएको थियो। सोही स्थानमा खेल्ने र रमाइलो गर्दै नुहाउने क्रममा बालबालिकाहरू अचानक गहिरो पानीमा पुगेर डुबेका थिए।
बालबालिकाहरू पानीमा डुबेको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली उद्धार तथा खोजी कार्यका लागि तत्काल घटनास्थल पुगेको थियो। सुरक्षाकर्मी र स्थानीयको संयुक्त प्रयासमा तीनै जना बालबालिकालाई पानीबाट बाहिर निकालिएको थियो। तर, अस्पताल पु¥याउनु अगावै उनीहरूको ज्यान गइसकेको र कसैलाई पनि बचाउन नसकिएको प्रहरीले दुःखद पुष्टि गरेको छ।
यसैबीच, घटनाको संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरीले आवश्यक कानुनी अनुसन्धान अघि बढाएको छ। स्थानीय स्तरमा पाँच जना बालबालिका पानीमा डुबेको हल्ला र चर्चा चले पनि हालसम्म तीन जनाको मात्रै मृत्यु भएको पुष्टि सुरक्षा निकायले गरेको छ। अन्य कोही परे÷नपरेको बारे थप अनुसन्धान र खोजी कार्य जारी राखिएको प्रहरीको भनाइ छ।